नुवाकोटमा तीन सांसद थप

  • त्रिशूली प्रवाह
  • २९ मंसिर २०७९, बिहीबार १२:२९

विदुर, नुवाकोट जिल्लाबाट प्रतिनिधिसभामा सांसद थप भएका छन् । नुवाकोटले थप तीनजना प्रतिनिधिसभा सांसद पाएको छ । प्रत्यक्षतर्फबाट निर्वाचितबाहेक समानुपातिकको कोटाबाट नुवाकोटले थप तीनजना सांसद पाएको हो । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यमा निर्वाचित गर्न उम्मेदवारको नाम छनोट गरी निर्वाचन आयोगमा शनिबार सूची बुझाएका थिए ।

प्रतिनिधिसभातर्फको समानुपातिक सूचीमा रहेका डा. प्रकाशशरण महत, विमला सुवेदी र सीता मिजार सांसद बनेका छन् । नुवाकोटमा दुई प्रतिनिधिसभा र चार प्रदेश सभा क्षेत्र रहेको छ । सम्पन्न निर्वाचनमा प्रतिनिधिसभातर्फको प्रत्यक्षमा नेपाली काङ्ग्रेसका अर्जुननरसिंह केसी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ, प्रदेश सभातर्फ प्रत्यक्षमा नेपाली काङ्ग्रेसका रमेशकुमार महत र बहादुरसिंह लामा, नेकपा माओवादी केन्द्रका राधिका तामाङ र रामप्रसाद ढुङ्गाना निर्वाचित भएका छन् । प्रतिनिधिसभामा समानुपातिकतर्फबाट नेपाली काङ्ग्रेसको खस-आर्य कोटामा डा. प्रकाशशरण महत र दलित कोटामा सीता मिजार (शिवपुरी गाउँपालिका-८ थानापती) रहेका छन् । नेकपा माओवादी केन्द्रको खस-आर्य कोटाबाट विमला सुवेदी चयन भएकी छिन् । थप तीनजना सांसद थप भएपछि नुवाकोटबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदको सङ्ख्या पाँच हुने भएको छ । बागमती प्रदेश सभामा भने नुवाकोटबाट कुनै पनि दलको समानुपातिकको कोटामा सांसद सिफारिस भएका छैनन् ।