बट्टार, नुवाकोटमा साक्षात देवीको रूपमा पुजित भैरवी देवीको मन्दिरपरिसर नुवाकोट दरबार क्षेत्रमा विगत दुई महिनादेखि फ्री वाइफाईको व्यवस्था रहेको छ ।
विदुर नगरपालिका-२ का अध्यक्ष दीपक कायस्थको विशेष अनुरोधमा इन्टरनेट प्रदायक संस्था वर्डलिंक प्रा.लि.ले वडा नम्बर २ मा रहेको ऐतिहासिक, धार्मिक, पुरातात्विक क्षेत्र भैरवी मन्दिरपरिसरमा निःशुल्क इन्टरनेट सेवा सञ्चालन गरेको हो । पाँच वर्षका लागि वर्डलिंकले फ्री इन्टरनेट सेवा प्रदान गरेको छ । फ्री इन्टरनेट उपलब्ध भएपछि मन्दिर भ्रमण गर्न आउनेलाई मोबाइल चलाउन, टिकटिक बनाउन, फोटो र फेसबुकलगायत सामाजिक सञ्चालनमा पोस्ट गर्न सहज भएको छ ।
कायस्थ गत वैशाख ३० गते वडाध्यक्षमा निर्वाचित भएपछि भोजमा खर्च गर्न छुट्याएको नगद एक लाख रुपैयाँले भोज नगरी वडाको माथिल्लो क्षेत्र नुवाकोट डाँडावरपर खानेपानी वितरणमा पाइप खरिद गरी उपभोक्ता समितिलाई हस्तान्तरण गरेका थिए । वडाध्यक्षले उपलब्ध गराएको पाइपमा नगरपालिका, जिल्ला पूर्वाधार कार्यालयलगायत सरोकारवाला सङ्घ-संस्थाको सहयोगमा दुई वर्षदेखि अवरुद्ध सिप्लीघान खानेपानी मुहान सञ्चालन गर्न सहज भएको छ । अहिले सिप्लीघान मुहानदेखि पाइपलाइन सुधार गरी तीनवटा ट्यांकीमा पानी खसाल्ने काम सम्पन्न भएको छ । उक्त ट्यांकीमा जम्मा भएको पानीलाई घरघरमा वितरण गर्ने कार्य वडा कार्यालयले अगाडि बढाइरहेको छ । वडामा रहेको स्वास्थ्य केन्द्रलाई १६ बेडको कोभिड तथा आपत्कालीन अस्पताल निर्माणका लागि टेन्डर प्रक्रियामा गएकोसमेत वडाध्यक्ष कायस्थले जानकारी दिए । उनी नुवाकोट दरबारलगायत आसपासको क्षेत्रमा खानेपानीको समस्या समाधान गर्न लागिपरेका छन् ।