विदुर, नुवाकोट जिल्लाको सुरक्षार्थ तैनाथ नेपाली सेनाको जबरजंग गणको २३२औँ वार्षिकोत्सव गत हप्ता सम्पन्न भयो । गणले स्थापनाको २३२औँ वार्षिकोत्सव मङ्सिर १९ गते विविध कार्यक्रम आयोजना गरी मनाएको छ ।
सो अवसरमा गणपति प्रमुख सेनानी अरुण कार्कीले गणको परम्पराअनुसार निशान भगवतीको विधिवत् पूजाअर्चना, निशान सलामी अर्पण गरी झन्डोत्तलन तथा वीर सहिद स्मारकमा माल्यार्पण गरेका थिए । उनले प्रधानसेनापतिबाट प्राप्त शुभकामना सन्देश सकलदर्जालाई सुनाएर वार्षिकोत्सवको विशेष शुभकामनाको साथै उत्कृष्ट सैनिक जवानलाई पुरस्कृत गरेका थिए । सो अवसरमा मङ्सिर २० गते जबर सांस्कृतिक कार्यक्रम तथा बडाभोज कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि तथा गणका कर्णेल कमान्डान्ट सहायक रथी शरद ढकाल (अ.प्रा.), विशिष्ट अतिथि मध्य पृतना हे.क्वा.का पृतनापति उपरथी होमनाथ दवाडी, विशेष अतिथि श्री नं. ६ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी रामचन्द्र कार्की, विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठ र उपप्रमुख प्रभा बोगटी, गणका पूर्वगणपति, जिल्लामा रहेका विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिलगायत गण तथा विभिन्न युनिटका अधिकृतको उपस्थिति रहेको थियो । सो कार्यक्रमका प्रमुख अतिथि तथा कर्णेल कमान्डान्टले शुभकामना मन्तव्यसहित वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको विभिन्न इभेन्टमा सर्वप्रथम भएको ‘घ’ गुल्मलाई सिल्ड र गुल्म झन्डा प्रदान गरेका थिए ।
यो गणको इतिहास पल्टाउँदा श्री ५ रणबहादुर शाहको शासनकालमा (वि.सं. १८४८ जेठ ५) मा ‘श्री जबरजंग गुल्म’, ‘श्री जबरजंग कम्पनी’को नाममा खडा भएको थियो । पुरानो अभिलेखअनुसार यो ‘जबरजंग कम्पनी’ आफ्नो जीवनकालमा पटक-पटक खारेजी र खडा हुँदै वि.सं. ०३९ साल जेठ ५ गते पुनः खडा भएपश्चात् अनाश्रित गुल्मको रूपमा सुनसरी जिल्लाको कुशाहास्थित कोसीटप्पुमा तैनाथ भएको थियो । तत्पश्चात् झापा, सप्तरी, भोजपुर, सुनसरी र ताप्लेजुङ जिल्लामा गुल्मको रूपमा तैनाथ भएको यो गुल्म वि.सं. ०६० मङ्सिर १९ गतेबाट गणमा परिणत भई झापा, खोटाङ, रुपन्देही हँुदै ०७६ देखि हाल देवीघाट ब्यारेक नुवाकोटमा तैनाथ रहेको छ । गणले सफा हिमाल अभियान २०२२ अन्तर्गत नेपाली सेनाबाट खटिई उच्च शिखर सगरमाथा आरोहण गर्न सफल हुने सहसेनानी गणेश कार्की र BANGO MATA Central Asian WomenÚs Volleyball Challenge Cup मा राष्ट्रिय खेलाडीको रूपमा सहभागी भई प्रथम स्थान हासिल गर्ने उपसेनानी कृपा अधिकारीलाई विशिष्ट अतिथि श्री मध्यपृतना हे.क्वा.का पृतनापति दवाडीले सो कार्यक्रममा सम्मान गर्दै हार्दिक बधाई तथा शुभकामना र प्रतीक मोमेन्टो प्रदान गरेका थिए ।






प्रतिक्रिया