+
Search

ताजा अपडेट +

पपुलर +

लाङटाङ राष्ट्रिय निकुञ्जले दाउरा सङ्कलन गर्न दिने

त्रिशूली प्रवाह
३ साल अगाडी

धुन्चे, रसुवा जिल्लाको लाङटाङ राष्ट्रिय निकुञ्जले रसुवाको माथिल्लो भेगका बस्तीमा बढी चिसो हुने भएकाले जनजीवनलाई सहज बनाउन केही समयका लागि स्थानीयलाई दाउरा सङ्कलन गर्न दिने भएको छ ।

Utsuk Books & Stationery

जिल्ला विपत् व्यवस्थापन रसुवाको अनुरोधमा लाङटाङ राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालयले हिमाली क्षेत्रका बासिन्दालाई मात्रै दैनिक दाउरा सङ्कलन गर्न छुट दिएको हो । सुकेको, ढलेको तथा बोटमा नै सुकेका हाँगाबाट दैनिक सङ्कलन गर्न पाइनेछ । हरियो खाले कुनै पनि वनस्पति काट्न वा मास्न नपाइने, मासेको थाहा पाएमा नियमानुसार कारबाही हुने बताइएको छ । स्थानीय उपभोक्ताले परम्परागत रूपमा जे-जति वन पैदावार उपभोग गर्दै आएका छन् ती वस्तु उपभोगमा हालसम्म रोकतोक नभएको निकुञ्जले स्पष्ट पारेको छ । जिल्लाका भूभागमध्ये लाङटाङ निकुञ्ज क्षेत्रको नौकुण्ड गाउँपालिकाअन्तर्गत यार्सा, ग्राङ्मर, सिङ्बन्दी, चोरेचो, संयुल, लोकिल, कालिका गाउँपालिकाअन्तर्गत लोकिल, राम्चे, ग्राङ, गुम्बुडाँडा, स्याउबारी, गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत ठाडे, धुन्चे, नागुङ, चन्दनबारी, भार्खु, ठूलोस्याफ्रु, वृद्धिम, लाङटाङ, टिमुरेको खैदीसमेतका क्षेत्रमा जाडो बढी हुन्छ ।

त्यसैगरी, डिभिजन वन कार्यालयको इलाका क्षेत्रमध्ये उत्तरगया गाउँपालिकाको तिरू, आमाछोदिङ्मो गाउँपालिकाको हाकु, नेसिङ, ग्रे, स्यो, गोल्जुङ, गत्लाङ, तातोपानी, सिम्बु, टेचाङ्चे गोसाइँकुण्ड गाउँपालिकाको थुमन तथा नाकथलीसमेतका स्थान हिमपात एवम् जाडो प्रभावित क्षेत्र भएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए । यी क्षेत्रमा चिसोपन बढिसकेको र मौसममा केही परिवर्तन आउँनेबित्तिकै हिमपात हुन सक्ने र गाउँले जनजीवन कठ्याङ्ग्रिने भएकाले डिभिजन वन तथा निकुञ्ज कार्यालयबाट दाउराको व्यवस्थापन गराउने र असहाय ज्येष्ठ नागरिक तथा गरिब महिला एवम् बालबालिकाका लागि न्यानो कपडा व्यवस्था मिलाउन सरोकारवाला निकायलाई अनुरोध गरिसकेकोसमेत उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह