साँघु सहकारीको साधारणसभामा सेयर सदस्य सम्मानित

  • त्रिशूली प्रवाह
  • ७ पुष २०७९, बिहीबार १३:५२

त्रिशूली, साँघु बहुउद्देश्यीय सहकारी संस्था लि. विदुर नगरपालिका-१ त्रिशूलीबजारले शनिबार १३औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । उक्त साधारणसभामा गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित सेयर सदस्यलाई सम्मानसमेत गरेको छ ।

सहकारीका अध्यक्ष कुमारमान मलेकुको सभापतित्वमा सम्पन्न साधारणसभाको प्रमुख अतिथि विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीले उद्घाटन गरेकी थिइन् । साधारणसभामा सेयर सदस्य विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, सेयर सदस्य विदुर नगरपालिका-१ का अध्यक्ष लेनिन रञ्जित र सेयर सदस्य म्यागङ गाउँपालिकाकी उपाध्यक्ष सीता तामाङलाई सम्मान गरिएको थियो । सो कार्यक्रममा सेयर सदस्यका छोराछोरीमध्ये ०७९ को एसइई परीक्षामा उत्कृष्ट हुने सुनील बज्राचार्यको छोरा सोनेस बज्राचार्य र अजर अमात्यको छोरा अविर अमात्यलाई सम्मान गरिएको थियो । सभामा सहकारीका अध्यक्ष कुमारमान मलेकु, लेखा सुपरिवेक्षण समितिका संयोजक दिलीप शाक्यले प्रस्तुत गरेको प्रतिवेदन छलफलसहित पारित भएको छ । ०६६ सालमा दर्ता भई सञ्चालन भएको साँघु बहुउद्देश्यीय सहकारीमा तीन सय ८५ सेयर सदस्य र सेयरपुँजी ६६ लाख ३३ हजार सात सय रहेको छ ।

सहकारीले गत आ.व. ०७८/७९ मा तीन करोड ८० लाख ७९ हजार नौ सय ९३ निक्षेप सङ्कलन गरी तीन करोड ९६ लाख दुई हजार पाँच सय ४६ रुपैयाँ ऋण लगानी गरेको थियो । सहकारीले आ.व. ०७७/७८ मा एक लाख ४३ हजार नौ सय ८५ मुनाफा गरेकोमा ०७८/७९ मा मुनाफा वृद्धि भई एक लाख ७० हजार तीन सय ६३ भएको थियो । साधारणसभामा त्रिशूली बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष राजेन्द्रभक्त अमात्य, राष्ट्रिय सहकारी बैंकका प्रतिनिधि रवीन्द्रमान श्रेष्ठ, सुगतपुर विहार त्रिशूलीका अध्यक्ष आनन्द शाक्यलगायतका अतिथिले शुभकामना दिएका थिए ।