ढिकी-जाँतो चुलीमा आश्रम बनाउन बाबाको इच्छा

  • त्रिशूली प्रवाह
  • ७ पुष २०७९, बिहीबार १३:५९

चारघरे, नुवाकोट जिल्लाको विदुर नगरपालिका-१२ र तारकेश्वर गाउँपालिका-६ को सिमानामा रहेको ढिकी-जाँतो चुलीको प्रचार-प्रसारमा स्थानीय भट्टगाउँवासी लागिरहेका छन् । स्थानीयको आग्रहमा अध्ययन-अवलोकन गर्न गत शनिबार काठमाडौं मड्खुमा रहेको भुवनेश्वरीदेवी मन्दिरका संस्थापक श्यामानन्द ब्रह्मचारी बाबासहित उनका अनुरागी पुगेका थिए ।

जिल्लाकै उच्च स्थानमा रहेको उक्त चुलीबाट गणेश हिमाल, लाङटाङलगायतको हिमशृङ्खलाको दृश्यावलोकन गर्दै बाबाले आश्रम बनाउने इच्छा व्यक्त गरेका छन् । स्थानीय समाजसेवी बद्री भट्टको विशेष पहलमा बाबासहित भुवनेश्वरी मन्दिरका संरक्षकको टोलीले ढिकी-जाँतो चुलीमा पुगेर नुवाकोट, रसुवा र धादिङका अधिकांश स्थानको दृश्य अवलोकन गरेको थियो । स्थानीयवासीको आतिथ्यता स्वीकार गर्दै बाबाले ढिकी-जाँतो चुलीको डेढ घन्टा पैदल यात्रा गरी उक्त स्थानमा आश्रम बनाउने इच्छा व्यक्त गरेका हुन् । बाबाले उक्त स्थानमा खानेपानीको व्यवस्था र आवत-जावत गर्ने पैदलमार्ग बनाइदिन स्थानीयलाई आग्रह गरेका छन् । श्यामानन्द ब्रह्मचारी बाबाले देशको विभिन्न भागमा आश्रम बनाइसकेका छन् । बाबाले थप एउटा आश्रम बनाउने स्थानको खोजी गरिरहेकाले बाबाका अनुरागीहरू ढिकी-जाँतो चुली आइपुगेका थिए ।

स्थानीय सरोकारवालाले चुली परिसरमा बाटो र खानेपानीको व्यवस्था गरिदिने हो भने बाबाले आश्रम बनाउने इच्छा गरेको बाबाका अनुयायी एवम् विनपा-५ पीपलटारका शिक्षासेवी विष्णुप्रसाद पनेरूले बताए । विदुर नगरपालिकाको उच्च स्थानमा रहेको ढिकी-जाँतो चुलीको प्रचार-प्रसार र प्रवद्र्धन गर्न सके नगरपालिकाले समेत आम्दानी लिन सक्ने र स्थानीयवासीलाई प्रत्यक्ष फाइदा हुने सामाजिक अभियन्ता अम्बिका नेपालले बताइन् । यो स्थानमा पुग्न तारकेश्वर गाउँपालिकाले सिँढी बनाउन बर्सेनि बजेट छुट्याएर निर्माण थालेको छ भने विदुर नगरपालिकाले भट्ट गाउँबाट जामुने हुँदै ढिकी-जाँतो चुलीको फेदीसम्म पुग्ने मोटरबाटो निर्माण सुरु गरेको स्थानीय सामाजिक अगुवा रामप्रसाद भट्टले बताए ।