स्थानीय व्यापार-व्यवसाय प्रवद्र्धनमा मेला-महोत्सवको महत्व

  • त्रिशूली प्रवाह
  • ७ पुष २०७९, बिहीबार १४:०६

यस वर्षको वर्षात् र चाडपर्व सकिएको छ । हिउँद लागेको छ । हिउँद लागेसँगै देशभरि मेला-महोत्सवको कार्यक्रमको तयारी र सुरु हुने क्रम रहेको छ । विगतका वर्षमा पनि यस्ता मेला-महोत्सवको छुट्टै महत्व र स्थान रहने गरेको थियो । महोत्सवले स्थानीयस्तरमा मनोरञ्जन दिने स्थानीय कला, संस्कृतिको प्रवद्र्धन र प्रचार-प्रसार गर्छ । मेला-महोत्सवले स्थानीयस्तरमा मनोरञ्जनका साथै त्यसभन्दा बढी स्थानीय क्षेत्रमा उत्पादित कृषि तथा लघु घरेलु उत्पादनको बजारीकरणमा पनि सहयोग पुग्छ । मेला-महोत्सवमा बेरोजगार युवायुवतीलाई मनोरञ्जनसँगै स्वरोजगार हुन प्रेरणा दिन्छ । साना लघु तथा घरेलु व्यवसायीलाई प्रवद्र्धन गर्न सहयोगसमेत पुग्ने हुनाले पनि यसको छुट्टै महत्व छ । विगत दुई वर्ष कोभिडको कारण मेला, महोत्सव भए पनि उल्लासमय हुन सकेको थिएन । यो वर्षको सुरुमा देशका सात प्रदेशमै मेला, महोत्सवका लागि उद्योग वाणिज्य सङ्घ र अन्य सरोकारवाला सङ्घ-संस्थाले तयारी थालेका छन् ।

बागमती प्रदेशको धादिङ जिल्लामा पुस महिनाको पहिला साता महोत्सव हुन लागेको छ । यो महोत्सव धादिङ उद्योग वाणिज्य सङ्घको आयोजनामा पुस ७ देखि १७ गतेसम्म धादिङबेँसीमा हुँदै छ । धादिङ उद्योग वाणिज्य सङ्घले २०६४ सालदेखि महोत्सव, मेला आयोजना गर्दै आइरहेको छ । यो आठौँ महोत्सवमा बिक्री तथा प्रदर्शनी प्रवद्र्धनका लागि एक सय २० वटा स्टलमा स्थानीय तहभित्र उत्पादन हुने वस्तु तथा सेवाको प्रदर्शनी, कृषि प्रदर्शनी, साना तथा घरेलु उत्पादनको प्रदर्शनी तथा बिक्री-वितरण गरिनेछ । जिल्लाको सांस्कृतिक विविधताको संरक्षण गरी समग्र आर्थिक, सामाजिक विकासका लागि पर्यटन कृषि, घरेलु उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, क्षेत्रको विकास तथा सांस्कृतिक जागरण र पर्यटन क्षेत्रको प्रवद्र्धनमा टेवा पु¥याउँदै विभिन्न जातजाति, वर्ग र समुदायबीच सद्भाव एवम् भ्रातृत्व अभिवृद्धि गरी आर्थिक उत्पादनको दृष्टिले जिल्लाको समुन्नतिमा सङ्गठित रूपले प्रयत्नशील रहने लक्ष्य महोत्सवले लिएको छ । जिल्लालाई औद्योगिक, व्यापारिक, कृषि तथा पर्यटकीय क्षेत्रको रूपमा विकसित गर्ने, स्थानीयस्तरबाट उत्पादित वस्तुको बजारीकरण र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, घरेलु उद्योगको प्रवद्र्धनमा टेवा पु¥याउने, घरेलु उत्पादन र कृषिलाई व्यावसायिक र आधुनिकीकरणतर्फ उन्मुख गराउने, निकासीयोग्य वस्तुको पहिचान एवम् बजार प्रवद्र्धनमा सहयोग पु¥याउनेसमेत उद्देश्य सङ्घले राखेको छ । स्थानीय कला, साहित्य तथा लोकसंस्कृतिको जगेर्ना गर्ने, विभिन्न जातजातिबीच सांस्कृतिक, सामाजिक तथा धार्मिक सद्भाव अभिवृद्धि गर्ने, लगानीका अवसरको सिर्जना गर्ने, बहुप्रतीक्षित जलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजनाको निर्माणको काम अघि बढाउन सकारात्मक दबाब सिर्जना गर्ने उद्देश्यसमेत राखिएको छ ।

मुलुकका विभिन्न स्थानमा हुने यस्तो महोत्सवले उत्पादक र उपभोक्ता दुवैलाई एउटै थलोमा प्रत्यक्ष रूपमा भेट गराउने मौका मिलाउँछ । उपभोक्ताले दिने प्रतिक्रियाले उद्यमीले आफ्नो उत्पादनलाई विश्वासिलो र गुणस्तर बनाउने मौका पाउँछन् । यसका साथै लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धन, आवश्यक ज्ञान, सीप, उद्यमशीलता र प्रविधि हस्तान्तरणमा समेत यस्तो मेला-महोत्सवले सहयोग पु¥याउँछ । वस्तुको उत्पादन र उपभोगबाहेक जातीय, वेशभूषा, कला-संस्कृति, रीतिरिवाजको जगेर्ना गर्न पनि महोत्सव सहयोगी बन्दै आएका छन् । एक्स्पोले उद्यमी-व्यवसायीलाई व्यावसायिक सम्बन्धको विकास र नयाँ प्रविधिको पहिचान गर्न पनि सघाउ पु¥याउँछ । यस्तै, स्थानीयस्तरमा उत्पादित कृषि वस्तुको व्यवसायीकरण गर्न र आयोजना हुने क्षेत्रको पर्यटकीय गन्तव्यको प्रचार-प्रसार गरी आन्तरिक पर्यटन प्रवद्र्धन गर्न महोत्सव सहयोगी बन्ने गरेको छ । पछिल्लो समय देखिएको नवप्रवद्र्धक (स्टार्टअप)को व्यावसायिक विकासमा पनि मेलाले सहयोग पु¥याउन सक्नेछ ।
मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा साना तथा घरेलु उद्योगको ठूलो अंश छ । तर, यो क्षेत्र सरकारको नजरमा कहिल्यै पर्न सकेको छैन । कोभिड महामारीको समयमा लगभग शून्यतिर झरेको यो क्षेत्र अझै पनि राम्रोसँग उठ्न सकेको छैन । सरकारले ठूला व्यवसायीलाई मात्र बढी ध्यान दिन्छ र उनीहरूका मात्र कुरा सुन्छ । साना व्यवसायीको समस्या कसैले सुन्ने गरेको छैन । बैंक तथा वित्तीय संस्था पनि ठूला व्यवसायीलाई नै कर्जा दिन्छन् । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई यो क्षेत्रमा कुल कर्जाको केही निश्चित प्रतिशत यो क्षेत्रमा दिन निर्देशन दिएको छ । तर, व्यवहारमा यो लागू भएको अवस्था छैन । पछिल्लो समय देखिएको कर्जा नपाउने र पाए पनि चर्को ब्याजको समस्या सबैभन्दा बढी साना तथा घरेलु उद्योगमा नै छ । यस्तोमा मेला, महोत्सव आयोजनाले आन्तरिक गतिविधि बढाउने र थोरै भए पनि यो क्षेत्रलाई चलायमान गराउन सहयोग पुग्छ । त्यसैले उद्योगी-व्यवसायीले गर्ने यस्ता मेलालाई सरकारले सकेसम्म सहयोग गरी प्रोत्साहन गर्नुपर्छ ।