विदुर, प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ सम्पन्न भएर अन्तिम मत परिणाम आइसकेको छ । निर्वाचन आयोगले निर्वाचनको प्रत्यक्ष र समानुपातिकको परिणाम प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई गत बिहीबार र सातै प्रदेशका प्रमुखलाई शनिबार बुझाइसकेको छ । राष्ट्रपतिले सरकार बनाउन दलहरूलाई आह्वान गरेसँगै दलहरू सङ्घीय सरकार र प्रदेश सरकार बनाउन सक्रिय भइरहेका छन् । राष्ट्रपतिले सात दिनभित्र सरकार बनाउन दलहरूलाई बहुमत सांसदसहित आउन आह्वान गरेकी छिन् ।
सम्पन्न निर्वाचनमा सत्तागठबन्धन दल नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी, राष्ट्रिय जनमोर्चा सम्मिलित पाँचदलीय गठबन्धन चुनावमा होमिएको थियो । चुनावमा पाँचदलीय गठबन्धनले बहुमत ल्याउन सकेन । बहुमत ल्याउन नसके पनि गठबन्धनबाट सबैभन्दा बढी नेपाली काङ्ग्रेसलाई फलिफाप भएको परिणामले पुष्टि गर्छ । सत्तागठबन्धन दलहरूको भोट ट्रान्सफर हुँदा काङ्ग्रेसलाई यसपटकको निर्वाचन फलिफाप भयो । गत ०७४ को प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा तेस्रो दल बनेको काङ्ग्रेस यसपटक पहिलो पार्टी बन्न सफल भएको छ । सत्तागठबन्धन दलहरूबीच चुनावी गठबन्धन भए पनि देशभरिबाट उनीहरूले सोचेजस्तो परिणाम आएन । गठबन्धनका पाँच दलले जितेको सिट सङ्ख्या सरकार बनाउन पुग्ने बहुमत नआउँदा गठबन्धनलाई मतदाताले विश्वास नगरेको चर्चा पनि राजनीतिक वृत्तमा चलेको छ । देशभरिको एक सय ६५ निर्वाचन क्षेत्र भागबन्डा गरेर निर्वाचनमा गएको पाँच दलको गठबन्धनले काङ्ग्रेसलाई मात्र फाइदा पुगेको गुनासो पनि गठबन्धनरत दलले गरेका छन् । नेकपा माओवादी केन्द्र र नेकपा एसलाई खासै फाइदा पुग्न नसकेको नेताहरूले बताए पनि रसुवामा पाँच सय र नुवाकोटमा एक हजार मत कटाउन नसक्ने नेकपा एसले धादिङको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा जित्न मुस्किल पथ्र्यो । उक्त क्षेत्रमा नेकपा एसले समानुपातिकमा ६ हजार ३५ मत पाएको छ । सो क्षेत्रबाट एमालेका उम्मेदवारले प्रत्यक्षमा २७ हजार नौ सय ९७ मत पाएर दोस्रो स्थानमा चित्त बुझाउनुप¥यो । नुवाकोटको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा पनि गठबन्धनको साथ नभएको भए नेकपा माओवादी केन्द्रका उम्मेदवार पराजित हुने थिए । उक्त क्षेत्रमा गठबन्धनको मत पाएर माओवादी केन्द्रका उम्मेदवारले २६ हजार पाँच सय ४८ मत पाउँदा समानुपातिकमा १५ हजार एक सय २७ मत पाएको छ । उक्त क्षेत्रमा नेकपा एमालेले प्रत्यक्षमा २३ हजार चार सय ६५ मत पाएर पराजित हुनुप¥यो । यी दुईवटा जिल्लाको मत परिणाम केलाउँदा गठबन्धन दलको मत ट्रान्सफर भएको पुष्टि हुन्छ ।
निर्वाचनको अन्तिम मत परिणामअनुसार नुवाकोट, धादिङ र रसुवामा काङ्ग्रेसले प्रतिनिधिसभा र प्रदेशमा सदस्य बढी जितेको छ । गत २०७४ को निर्वाचनमा तीन जिल्लाको पाँच प्रतिनिधिसभा र दश प्रदेश सभा क्षेत्रमध्ये रसुवाको प्रतिनिधिसभा सदस्य एक र प्रदेश सभा सदस्य एक क्षेत्र मात्र जितेको थियो । यसपटक निर्वाचनमा गठबन्धन गर्दा काङ्ग्रेसले पाँच प्रतिनिधिसभामध्ये धादिङ, नुवाकोट र रसुवाको एक क्षेत्र गरेर तीन क्षेत्रमा जितेको छ । त्यसैगरी, तीन जिल्लाको १० प्रदेश सभा क्षेत्रमध्ये यसपटकको निर्वाचनमा चार प्रदेश सभा क्षेत्र जित्न सफल भएको छ । काङ्ग्रेसले नुवाकोटको दुई, रसुवाको एक र धादिङ जिल्लाको दुई प्रदेश सभा जित्न सफल भएको छ । निर्वाचनको परिणामअनुसार यसपटक नुवाकोट, धादिङ र रसुवा जिल्लाको १० प्रदेश सभा क्षेत्र र पाँच प्रतिनिधिसभा क्षेत्रमा एमालेले एक सिट पनि जित्न सकेन । गत ०७४ को निर्वाचनमा धादिङको दुई, नुवाकोटको एक प्रतिनिधिसभा र धादिङको दुई र नुवाकोटको दुई प्रदेश सभा जितेको थियो । गत निर्वाचनमा एमाले र माओवादी केन्द्रको चुनावी गठबन्धन रहेको थियो । गठबन्धन गर्दा माओवादी केन्द्रले नुवाकोटको एक प्रतिनिधिसभा, दुई प्रदेश सभा क्षेत्र र धादिङको दुई प्रदेश सभा क्षेत्र जितेको थियो । यसपटकको निर्वाचनमा काङ्ग्रेससँग गठबन्धन गरेको माओवादी केन्द्रले धादिङको एक प्रदेश सभा गुमाएको छ भने रसुवाको एक प्रदेश सभा जितेको छ । एमालेले यसपटकको निर्वाचनमा पाँचदलीय गठबन्धनको कारण प्रतिनिधि र प्रदेश सभामा तीन जिल्लाबाट प्रतिनिधित्व गराउन सकेन ।
एक प्रतिनिधिसभा क्षेत्र रहेको रसुवामा काङ्ग्रेसले प्रत्यक्षतर्फ १८ हजार दुई सय ३५, एमालेले आठ हजार ६ सय १४, राष्ट्रिय स्वतन्त्र पार्टीले एक सय ६५ र राप्रपाले ७५ मत पाएको छ । पाँचदलीय गठबन्धनका उम्मेदवारले प्रतिनिधिसभा र प्रदेश सभा क्षेत्र जितेका छन् । रसुवामा समानुपातिकतर्फ काङ्ग्रेसले १२ हजार पाँच सय ८६, एमालेले सात हजार सात सय आठ, माओवादी केन्द्रले तीन हजार ६ सय ८६, रास्वपाले एक हजार सात सय ३१, राप्रपाले तीन सय ८८ र नेकपा एकीकृत समाजवादीले तीन सय ३६ मत पाएको छ । निर्वाचनअघि दलहरूले गठबन्धन गरे पनि मत ट्रान्सफर हुँदैन भन्ने चर्चा चले पनि रसुवामा मत ट्रान्सफर भएकाले गठबन्धन दलका साझा उम्मेदवारले निर्वाचन जितेका छन् । धादिङको दुई प्रतिनिधिसभा र चार प्रदेश सभा क्षेत्रमा पनि गठबन्धनको मत ट्रान्सफर भएको कारण गठबन्धनरत दलका उम्मेदवारले निर्वाचन जितेका छन् । धादिङको प्रतिनिधिसभा क्षेत्र नम्बर १ प्रत्यक्षमा नेकपा एकीकृत समाजवादीले ३६ हजार १८, एमालेले २७ हजार नौ सय ९७ र रास्वपा पार्टीले १२ हजार चार सय ९४ मत पाएका छन् । त्यसैगरी, उक्त क्षेत्रबाट समानुपातिकमा काङ्ग्रेसले १६ हजार पाँच सय ६७, एमालेले २४ हजार आठ सय १३, माओवादी केन्द्रले १५ हजार सात सय ९४, रास्वपाले १० हजार एक सय २७, राप्रपाले दुई हजार चार सय २३ र नेकपा समाजवादीले ६ हजार ३५ मत पाएका छन् ।
त्यसैगरी, धादिङको प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रत्यक्षमा काङ्ग्रेसले ३४ हजार सात सय ३६, एमालेले २४ हजार एक सय ९०, रास्वपाले पाँच हजार पाँच सय ६९ मत पाएका छन् भने समानुपातिकमा काङ्ग्रेसले २० हजार नौ सय ५७, एमालेले १६ हजार दुई सय ७५, माओवादी केन्द्रले १९ हजार चार सय ९४, रास्वपाले पाँच हजार ६ सय २८, राप्रपाले सात हजार ६ सय ३० र नेकपा एकीकृत समाजवादीले दुई हजार तीन सय ९४ मत पाएका छन् । नुवाकोटको दुई प्रतिनिधिसभा र चार प्रदेश सभा क्षेत्रमा पनि सत्तागठबन्धनको उम्मेदवारले जित हासिल गरेका छन् । नुवाकोटको प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रत्यक्षतर्फ एमालेले २३ हजार चार सय ६५, माओवादी केन्द्रले २६ हजार पाँच सय ४८, रास्वपाले ६ हजार एक सय १३, राप्रपाले एक हजार ६ सय ११ मत पाएका छन् । प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट समानुपातिकमा काङ्ग्रेसले १५ हजार सात सय ५१, एमालेले १६ हजार दुई सय ६७, माओवादी केन्द्रले १५ हजार एक सय सय २७, रास्वपाले पाँच हजार चार सय ४९, राप्रपाले चार हजार ४९ र नेकपा एकीकृत समाजवादीले पाँच सय पाँच मत पाएका छन् ।
नुवाकोटको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेपाली काङ्ग्रेसले २८ हजार एक सय सात, एमालेले १५ हजार पाँच सय ६१, रास्वपाले १६ हजार चार सय ७७ र राप्रपाले एक हजार पाँच सय ७१ मत पाएका छन् । यो क्षेत्रमा गठबन्धन दलले जितेको हो । समानुपातिकतर्फ यो क्षेत्रबाट काङ्ग्रेसले २० हजार ८५, एमालेले १५ हजार दुई सय ४८, माओवादी केन्द्रले १० हजार चार सय ३४, रास्वपाले १० हजार आठ सय ३४, राप्रपाले चार हजार चार सय चार र नेकपा एकीकृत समाजवादीले चार सय ५३ मत पाएका छन् । गठबन्धन नगरेको भए काङ्ग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले नुवाकोट, धादिङ र रसुवामा प्रतिनिधिसभा तथा प्रदेश सभामा निर्वाचनको जित हासिल गर्न मुस्किल हुने निर्वाचन परिणामले देखाएको छ ।
प्रतिक्रिया