विदुर, नुवाकोटका १२ वटा पालिकामध्येको सदरमुकाम र मुख्यबजार क्षेत्र रहेको विदुर नगरपालिकाले नगरको बजार क्षेत्र भएर बग्ने ढललाई एकीकृत गर्न र त्यसलाई प्रशोधन गरेर शुद्ध बनाउने कार्य थालेको छ । मुख्य बजार क्षेत्र भएर बग्ने ढल व्यवस्थापनको लागि नगरपालिकाले ढल निर्माण तथा प्रशोधन गर्ने पहिलो चरणको कार्यअन्तर्गत पाइप बिछ्याउने कार्यको शुभारम्भ गरेको छ ।
सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना चितवनमार्फत ठेक्का भएको विदुर ढल निर्माण तथा प्रशोधन आयोजना निर्माणको जिम्मेवारी शर्मा–सगुन जेभीले पाएको छ । उक्त आयोजनाको कार्यक्षेत्र विदुर नगरपालिका वडा नं. २, ४, ५ र ६ वडा रहेको छ । उक्त आयोजनाको शिलान्यास नगरपालिकाका मेयर राजन श्रेष्ठले शुक्रबार गरेका हुन् । शिलान्यास वडा नं. ६ मा भएको भए पनि निर्माण कार्य वडा नं.४ बाट थालनी हुन लागेको छ । आयोजनाको शिलान्यास गर्दै मेयर श्रेष्ठले तोकिएको समय-सीमाभित्र निर्माण सम्पन्न गर्न आग्रह गरे । तोकिएको समय–सीमाभित्र निर्माण सम्पन्न गर्न नगरपालिकाले सम्पूर्ण आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत सो अवसरमा जनाए । यो आयोजनाको निर्माण सम्झौता गत ०७९ जेठ १२ गते निर्माण व्यवसायीसँग भएको थियो । व्यवसायीसँग भएको सम्झौताअनुसार आयोजनाको पाइप बिछ्याउने काम ०८२ मङ्सिर १२ गतेसम्म अर्थात् ३० महिनामा सम्पन्ने गरिसक्नुपर्नेछ । चारवटा वडाबाट आयोजनाको प्रशोधन केन्द्रसम्म पु¥याउन २१ किलोमिटर पाइप बिछ्याउने काम हुने ठेक्कामा उल्लेख छ । उक्त आयोजनाको काम ४५ करोड ८२ लाखमा शर्मा–सगुन जेभीले पाएको छ । नगरपालिकाको चार वडाको मुख्य बजार क्षेत्रमा दुई सय एमएमदेखि चार सय एमएमसम्मको ‘डबल वाल कोरिगेटेड’ एचडिइपी पाइप बिछ्याउने सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका इन्जिनियर अमृत भण्डारीले त्रिशूली प्रवाह साप्ताहिकलाई जानकारी दिए । आयोजनाको पहिलो चरणमा पाइप बिछ्याउने काम हुनेछ भने दोस्रो चरणमा ढललाई शुद्धीकरणका लागि प्रस्तावित प्रशोधन केन्द्र निर्माणको लागि पुनः ठेक्का लगाइनेसमेत इन्जिनियर भण्डारीले बताए ।
सो आयोजना सम्पन्न भएपछि विदुर नगर क्षेत्रका ढल व्यवस्थापनमा सहज हुने नगरपालिकाकी उपमेयर प्रभा बोगटीले बताइन् । अहिले निर्धारण गरिएको क्षेत्राधिकार बढाएर तोकिएको वडा नं. २, ४, ५ र ६ को बढी जनघनत्व भएको क्षेत्र र केही वडा थप गर्नसमेत पहल गरिने उनले जानकारी दिइन् । त्रिशूली नदीलाई स्वच्छ र धार्मिक नदी बनाउन क्रियाशील रहेका अघिल्लो कार्यकालका मेयर सञ्जु पण्डित विदुर ढल निर्माण तथा प्रशोधन आयोजनाका लागि प्रदेश र सङ्घीय सरकारमा धेरैपटक धाएर योजना पार्न र डिपिआर बनाउन सफल भएका थिए । पूर्वमेयर पण्डितको कार्यकालमा विदुर नगरपालिका-१० बेत्रावती, विदुर नगरपालिका वडा-१ ढुङ्गे, विदुर नगरपालिका-४ को तल्लो भाग र विदुर नगरपालिका-५ को देवीघाट क्षेत्रमा ढल व्यस्थापन गर्ने र प्रशोधनका लागि प्रदेश सरकारको सहयोगमा गत वर्षदेखि निर्माण कार्य सुरु भइरहेको छ । अबको पाँच वर्षमा विदुर नगरपालिका क्षेत्रभित्र बग्ने त्रिशूली नदी शुद्ध, स्वच्छ र पवित्र हुने विदुर नगरपालिका–१ का अध्यक्ष लेनिन रञ्जितले बताए । विगतमा अगाडि बढाएर सुरु भइरहेका बहुवर्षीय र नगरको कायापलटका योजनालाई प्राथमिकताको साथ अगाडि बढाउने निर्णय कार्यपालिकाले गरेकोसमेत उनले बताए ।






प्रतिक्रिया