विदुर, गाउँपालिका राष्ट्रिय महासङ्घको तेस्रो राष्ट्रिय महाधिवेशन गत मङ्सिर २७ गते काठमाडौंमा सम्पन्न भयो । महाधिवेशनबाट ३७ सदस्य कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
उक्त महाधिवेशनबाट गाउँपालिका राष्ट्रिय महासङ्घको कार्यसमितिको सदस्यमा नुवाकोटको शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थपलिया र तादी गाउँपालिकाकी उपाध्यक्ष सञ्जु प्याकुरेल श्रेष्ठ निर्वाचित भएका छन् । नेपाली काङ्ग्रेसको तर्फबाट शिवपुरी गाउँपालिका अध्यक्षमा निर्वाचित थपलिया र नेकपा माओवादी केन्द्रको तर्फबाट तादी गाउँपालिका उपाध्यक्षमा निर्वाचित श्रेष्ठ गाउँपालिका राष्ट्रिय महासङ्घको कार्यसमितिको सदस्यमा चयन भएका हुन् । नयाँ नेतृत्वका लागि राजनीतिक दलहरूले भागबन्डा गरेका थिए । सबैभन्दा बढी स्थानीय तह जितेको काङ्ग्रेसलाई अध्यक्ष, उपाध्यक्ष, नेकपा एमालेलाई महासचिव, सचिव र सातजना सदस्य र नेकपा माओवादी केन्द्रलाई कोषाध्यक्ष भागबन्डा गरेको थियो । अध्यक्षमा नेपाली काङ्ग्रेसका लक्ष्मी पाण्डे, नवलपुर जिल्लाको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष चयन भएकी छिन् । गत वैशाखको स्थानीय निर्वाचनमा पाण्डे दोस्रो कार्यकालका लागि हुप्सेकोट गाउँपालिकाको अध्यक्षमा विजयी भएकी हुन् । उपाध्यक्षमा पनि नेपाली काङ्ग्रेसका जुम्लाको हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाही चयन भएका छन् ।
महासचिवमा नेकपा एमालेका स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा निर्वाचित भएका हुन् । सचिवमा सिन्धुलीको फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवार निर्वाचित भइन् । कोषाध्यक्षमा नेकपा माओवादी केन्द्रको तर्फबाट अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेश भट्ट चयन भएका छन् । पदाधिकारीसहित ३७ सदस्यीय महासङ्घको कार्यसमिति चयन भएको छ । जसमा गाउँपालिकाका अध्यक्ष २७ जना छन् भने नौजना गाउँपालिकाका उपाध्यक्ष र एकजना वडा सदस्य कार्यसमितिमा चयन भएका छन् ।






प्रतिक्रिया