+
Search

ताजा अपडेट +

पपुलर +

तारकेश्वरको प्रमुख प्रशासकीय भवन शिलान्यास निःशुल्क जग्गादातालाई सम्मान

त्रिशूली प्रवाह
३ साल अगाडी

दाङसिं, नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिकाको प्रमुख प्रशासकीय भवन निर्माण सुरु भएको छ । तारकेश्वर गाउँपालिका-१ रयलछापमा निर्माण हुन लागेको भवनको आइतबार सङ्घीय सांसद तथा नेपाली काङ्ग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले शिलान्यास गरेका हुन् ।

कार्यक्रममा भवन निर्माणका लागि आवश्यक ६ रोपनी जग्गा निःशुल्क उपलब्ध गराउने जग्गादातालाई दोसल्ला र प्रशंसापत्रले सम्मान गरिएको थियो । पालिकाको भवन निर्माणका लागि जग्गाधनी नमराज लामिछाने, भूमिरमण लामिछाने, मोदकुमारी लामिछाने, लालबहादुर तामाङ, ढकानन्द र हिरामाया भण्डारी, मोदनाथ लामिछाने, अरविन्द विष्ट, कृष्णप्रसाद घिमिरे, लाटीमाया लामिछाने, कोपिला सापकोटा र लाभाप्रसाद घिमिरेले निःशुल्क रूपमा पालिकाको भवन बनाउन ६ रोपनी जग्गा उपलब्ध गराएका थिए । नयाँ निर्माण गर्न लागिएको भवनको शिलान्यास गर्दै पूर्वमन्त्रीसमेत रहेका काङ्ग्रेस नेता केसीले पालिकाको नयाँ भवन निर्माणसँगै जनताको सेवा प्रवाहमा सहजता, पालिकाको दैनिक कार्य सम्पादनमा सुधार तथा विकास निर्माणसहित सुशासन कायम गराउन सहयोग पुग्नुपर्ने बताए । निर्माण गरिने नयाँ भवनले लक्ष्यअनुसारको सफलता प्राप्त गर्न नसकिने भन्दै जनताको सेवा प्रवाहमा खटिनुपर्ने जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलसहित सरोकार राख्ने सबै पक्षबीच कार्यगत एकता र लोकतन्त्रको अभ्यास गर्न सङ्घीय सांसद केसीले सुझाव दिए ।

कार्यक्रममा सङ्घीय सांसद तथा काङ्ग्रेसका प्रभावशाली नेता केसीले जनताको सेवा पु¥याउन र पु¥याएको सेवाको महत्व बुझ्न आफू निरन्तर सहयोगी बनेर साथ दिने प्रतिबद्धता जनाए । उनले पूरा हुन बाँकी रहेको विदुर नगरपालिका-३ बाट तारकेश्वर हुँदै धादिङ जोड्ने सडक सम्पन्न गर्न, तारुकाघाटमा नयाँ पक्की पुल निर्माण गर्न, तारुकाको गोरु जुधाउने प्रतियोगितालाई खेल-पर्यटनको रूपमा विकास गर्नतर्फ प्राथमिकता दिनेसमेत प्रतिबद्धता व्यक्त गरे ।गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको शिलान्यास कार्यक्रममा तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारीले नयाँ भवन निर्माणले तारकेश्वरवासीमा उमङ्ग ल्याउन सक्ने गरेर सेवा प्रवाह गरिने प्रतिबद्धता जनाए । यसअघि राज्य पुनर्संरचनासँगै स्थापनादेखि भाडाको घरमा सञ्चालन हुँदै आएको पालिकाको कार्य सञ्चालन केही महिनाअघि सामुदायिक भवनमार्फत अघि बढाइएको छ भने अब बनाउन लागिएको भवनले पूर्वाधार विकाससहित पालिकाभित्रका सडक, खानेपानी, शिक्षा, स्वास्थ्यलगायतमा सुधारतर्फ अघि बढेको अध्यक्ष अधिकारीले बताए ।

भवन शिलान्यास कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता तथा पूर्वसंविधानसभा सदस्य जगदीश्वरनरसिंह केसी, नेकपा माओवादी केन्द्रका नेता तथा निवर्तमान प्रदेश सांसद हिरानाथ खतिवडा, जिल्ला समन्वय समिति नुवाकोट प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल, तारकेश्वर गाउँपालिकाका निवर्तमान अध्यक्ष रमेशबहादुर वस्ती र निवर्तमान उपाध्यक्ष तारादेवी रिमाल, नेपाली काङ्ग्रेस तारकेश्वर सभापति केशव अर्याल, नेकपा माओवादी केन्द्र तारकेश्वर अध्यक्ष सोमबहादुर तामाङलगायतले ढिलो गरेर निर्माणको काममा अघि बढेको भए पनि तोकिएको समय-सीमाभित्रै भवन निर्माण पूरा गर्न सहयोग तथा समन्वयनको प्रतिबद्धता जनाएका छन् । नयाँ भवन निर्माण गर्न ६ करोड ४२ लाख रुपैयाँमा ठेक्का लगाइएको उपाध्यक्ष हरिप्रसाद रिमालले जानकारी दिए । गएको साउन महिनामा भएको सम्झौताअनुसार नयाँ निर्माण गरिने प्रमुख प्रशासकीय भवनमा पालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष रहनेछ भने विभिन्न विषयगत शाखाहरूको सेवा प्रवाह एकै स्थानबाट उपलब्ध गराउन सकिने प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह