+
Search

ताजा अपडेट +

पपुलर +

कम्युनिस्ट नेतृत्वको सरकार बनेको दोस्रो दिनमै रसुवागढीबाट निर्यात सुरु

त्रिशूली प्रवाह
२ साल अगाडी
  • सरस्वती न्यौपाने

धुन्चे, छिमेकी मित्रराष्ट्र चीनले कोरोनाको बहाना बनाउँदै साढे दुई वर्षदेखि रसुवागढी नाकाबाट बन्द गरेको निर्यात मंगलबारदेखि सुरु गरेको छ । झन्डै दुई वर्षदेखि अघोषित नाकाबन्दी तोड्दै नेपालतर्फको नाका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री नियुक्ति भएको दोस्रो दिन मंगलबारदेखि निर्यात सुरु भएको हो ।

कोरोना सुरु भएपछि ३० महिनाअघि रसुवागढी नाकाबाट चीनले आयात-निर्यातमा रोक लगाएको थियो । कोरोना घट्दै गएपछि आयात खुकुलो पारे पनि निर्यात भने ठप्प थियो । मंगलबार ६ वटा मालबाहक ट्रकमा सामान चीनतर्फ गएको छ । चीनले त्यहाँ कोरोना सङ्क्रमणदर अहिलेसम्मकै उच्च रहेपनि कम्युनिस्ट नेतृत्वको सरकार बनेकाले खुसी र सकारात्मक बनेको हुन सक्ने कूटनीतिज्ञले बताएका छन् । विगतदेखि नै नेपालमा कम्युनिस्ट नेतृत्वको सरकार बनोस् भन्ने चाहना राख्दै चिनियाँ नेताहरूले गतिविधि गर्दै आएका थिए । विगतमा रसुवागढी नाकाबाट निर्यात खुलाउन प्रयास गरिए पनि चिनियाँ पक्षले आलटाल गर्दै आयात भने बन्द र खोल्ने गर्दै आएको थियो ।

रसुवा भन्सार प्रमुख नारायणप्रसाद भण्डारीले चीनतर्फ नेपाली उत्पादन ३० महिनापछि मंगलबारबाट निर्यात भएको जानकारी दिए । चीनतर्फ बाँसका मुडा, तामाको भाँडा, सजावटका सामग्रीलगायतका सामान निर्यात भएको भन्सारले जानकारी दिएको छ । एक दिनमै ५० लाख रुपैयाँ मूल्यको नेपालमा उत्पादित सामग्री निर्यात भएको छ । चीनले नेपालका आठ हजार वस्तुको निर्यातमा भन्सार छुटको व्यवस्था गरेको छ । नेपालबाट निर्यातयोग्य वस्तुको रूपमा अलैँची, अदुवा, चिया, जडीबुटी तथा आयुर्वेदिक, कपडा र धागो, छाला जुत्ता, च्याङ्ग्रा, पस्मिना, गलैँचा, कफी, अम्रिसोको कुचो, बाँसको मुडा, तामाका भाँडाकुँडा, काठका फर्निचर रहेका छन् । त्यस्तै, तरकारी तथा तरकारीको बिउ, फलफूल र जुस, मह, चाउचाउ, तयारी पोसाक, पत्थर, गहना, ऊनीका उत्पादन, फल, हस्तकला, मुसुरो, जुट, झोला, छुर्पी नेपालबाट चीन निर्यात हुने प्रमुख वस्तु हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह