+
Search

ताजा अपडेट +

पपुलर +

उत्तरगयामा हजारौँ भक्तजनले श्राद्ध गरे

उत्तरगयामा हजारौँ भक्तजनले श्राद्ध गरे
त्रिशूली प्रवाह
२ साल अगाडी

बेत्रावती, रसुवा र नुवाकोटको संगमस्थल ऐतिहासिक, धार्मिक बेत्रावतीको उत्तरगयाधाममा पौषेऔँसीका दिन ३० हजारभन्दा बढी भक्तजनले शुक्रबार विधिपूर्वक श्राद्ध गरेका छन् ।

हरेक वर्ष चन्द्रमासअनुसार पुस कृष्ण पक्षको औँसीका दिन गरिने दर्शन एवम् तीर्थ वा गया श्राद्ध विधिपूर्वक देशभरबाट आएका हजारौँ भक्तजनले शुक्रबार बेलुकासम्म गरेको जानकारी स्थानीय समाजसेवी शशि डङ्गोलले दिए । पुस ८ गते काठमाडौंको गोकर्ण, उत्तरगयासहित त्रिवेणीधाम, देवघाट, रिडी, रसुवा र नुवाकोटको संगमस्थल बेत्रावतीलगायतका तीर्थस्थलमा विधिपूर्वक श्राद्ध गरिँदै आएको छ । उत्तरगयामा यस वर्ष रसुवा र नुवाकोटसहित धादिङ, गोरखा, काभ्रे, सिन्धुपाल्चोक, काठमाडौं, चितवनलगायतका ठाउँबाट हिन्दू तथा बौद्धमार्गी आफ्नो दिवंगतको सम्झनामा श्राद्ध गर्न आएको बेत्रावतीका स्थानीय समाजसेवी दिल श्रेष्ठले बताए ।

भारतको काशीगया जानुभन्दा अघि गोसाइँकुण्ड कैलाश पर्वतको पाउ उत्तर शिरको उत्तरगया भूमिमा स्नान तथा पिण्डदान गरेर मात्रै गयाको अवलोकन भ्रमण या त्यहाँ गएको अर्थ मानिन्छ र पुण्य कमाइन्छ भन्ने जनविश्वास रहिरहेको छ । भगवान् शिव कैलाश पर्वतको बाटो गोसाइँकुण्ड प्रवेश गर्दा नीलाद्री पर्वतको फेदी हालको बेत्रावतीमा आइपुगेपछि विषको डाहको छटपटी भएपछि आफूले टेकेर हिँडेको वेदको लौरो जमिनमा गाड्नुभयो तत्पश्चात् तुरुन्तै ढुङ्गाको चेपबाट गंगा उत्पन्न हुनुभयो । गंगा उत्पन्न भएपछि शिवजी शान्त र आराम गरी त्यहाँबाट लीन हुनुभयो । यसै गंगानदीलाई आज बेत्रगंगाको नामले चिनिन्छ । शिव भगवान्ले स्वयम् वेदको लौरो गाडेर गंगानदी पैदा भएकाले यस स्थानको नाम बेत्रगंगा भएको र पछि बोल्दै जाँदा बेत्रावती नाम भएको सामाजिक अभियन्ता सोमलाल लवटले बताए । चार गयामध्ये रसुवा र नुवाकोटको संगमस्थल बेत्रावतीमा एक गया पर्दछ भने तीन गया भारतमा पर्दछ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह