विदुर, विदुर नगरपालिका-२ इन्द्रचोकमा रहेको शुभप्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
साधारणसभामा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका अध्यक्ष महेन्द्रलाल श्रेष्ठले आर्थिक वर्ष ०७८/७९ मा सहकारीले सम्पूर्ण खर्च कटाई ३१ लाख ८५ हजार चार सय ६ रुपैयाँ नाफा गरेको बताए । उनले हाल सहकारीमा तीन करोड २७ लाख १० हजार पाँच सय १५ रुपैयाँ रकम मौज्दात रहेकाले लगानीयोग्य पुँजी अभाव नरहेको बताए । उनले सहकारीले रसुवा जिल्लाको नौकुण्ड गाउँपालिकामा समेत कार्यक्षेत्र विस्तार गरेकाले चालू आर्थिक वर्षमा शाखा खोल्ने तयारी रहेकोसमेत जानकारी दिए । सो कार्यक्रममा सहकारीका कोषाध्यक्ष रामराजा श्रेष्ठले सहकारीको आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष ०७९/८० को अनुमानित आय-व्यय प्रस्तुत गर्दे सहकारीको आफ्नै भवन छिट्टै निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सेयर सदस्य थप गरी सहकारीको कार्य क्षेत्र थप विस्तार गर्ने लक्ष्य लिएर सहकारीको दायरा फराकिलो बनाउन लागेको बताए ।
कार्यक्रममा विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीले आर्थिक समृद्धिको बाटोमा हिँड्न सहकारीले महत्वपूर्ण योगदान गरेको बताइन् । उनले सहकारीले स्थानीय कृषि र पशुपालन व्यवसायलाई प्रवद्र्धन गर्नुपर्ने भन्दै त्यसका लागि सानो-सानो पुँजीसमेत सङ्कलन गर्नुपर्ने बताइन् । उपमेयर बोगटीले नगरपालिकाभित्र रहेका केही सहकारी संस्थामा विकृति देखिएकाले त्यसको नियमन कडा गर्न नगरपालिका तयार रहेकोसमेत उल्लेख गरिन् । उक्त साधारणसभामा जिल्ला सहकारी सङ्घ नुवाकोटका अध्यक्ष गोकर्णनाथ न्यौपानेले जिल्लामा रहेका अन्य सहकारी संस्थामध्ये शुभप्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेड उत्कृष्ट रहेकाले गत आर्थिक वर्षमा रााष्ट्रिय सहरकारी बैंकले सम्मान गरेको बताए । उनले नीति, विधि र पद्धति अवलम्बन गरेका सहकारी संस्था मात्र सफल रहेको भन्दै सबैले यसलाई पालना गर्नुपर्ने बताए ।
कार्यक्रममा नुवाकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रमेश श्रेष्ठले प्रत्येक टोलटोलमा सहकारी रहेको भन्दै सहकारी मर्ज गरेर सङ्ख्यात्मकभन्दा पनि गुणस्तरमा ध्यान दिनुपर्ने बताए । साधारणसभाको अवसर पारेर सहकारीले ज्येष्ठ सेयर सदस्य, उत्कृष्ट बचतकर्ता तथा ऋणकर्तालाई समेत सम्मान गरेको छ । साधारणसभामा सगरमाथा इन्स्योरेन्सका पब्लिक डाइरेक्टर गजेन्द्रलाल श्रेष्ठ, विदुर नगरपालिका- २ का वडा सदस्य सबु मिजार, अंशुबाटिका कृषि सहकारी संस्थाका अध्यक्ष रामलाल डङ्गोललगायतको उपस्थिति रहेको थियो ।






प्रतिक्रिया