बट्टार, नुवाकोट जिल्लाको बट्टारमा रहेको सौगात बचत तथा ऋण सहकारी संस्था लि.ले कर्जा लगानी वृद्धि गरेको छ । सहकारीले आ.व. ०७७/७८ को भन्दा आ.व. ०७८/७९ मा कर्जा लगानी तीन करोड ६६ लाख ८३ हजार ३९ रुपैयाँ वृद्धि भएको हो ।
शनिबार सहकारीको १३औँ वार्षिक साधारणसभामा अध्यक्ष रामप्रसाद अधिकारीले प्रतिवेदन प्रस्तुत गर्दै कर्जा लगानी बढेको जानकारी दिएका थिए । अध्यक्ष अधिकारीले बचत सङ्कलन आ.व. ०७८/७९ मा १३ करोड ६० लाख २१ हजार दुई सय ६९ रुपैयाँ रहेको र बचत फिर्ता गर्दा गत आ.व.को असारमा पाँच करोड नौ लाख ११ हजार ४२ रुपैयाँ रहेको बताए । सहकारीले आ.व. ०७७/७८ मा दुई करोड ८० लाख ४० हजार चार सय ३२ रुपैयाँ कर्जा लगानी रहेकोमा आ.व. ०७८/७९ मा वृद्धि भई ६ करोड ४७ लाख २३ हजार चार सय ७१ रुपैयाँ भएको थियो । पाँच सय ८७ सेयर सदस्य रहेको सौगात सहकारीको १३औँ वार्षिक साधारणसभाको उद्घाटन जिल्ला सहकारी सङ्घका अध्यक्ष गोकर्णनाथ न्यौपानेले गरेका थियो । प्रमुख अतिथि न्यौपानेले सौगात सहकारीले सेयर सदस्यको आर्थिक, सामाजिक स्तरवृद्धिमा प्रशंसायोग्य कार्य गरेको बताए ।
सहकारीका सचिव दीपक अधिकारीले सञ्चालन गरेको साधारणसभामा साङ्ग्रिला बैंकका नवराज सुवेदी, मुक्तिनाथ विकास बैंकका माधवप्रसाद अधिकारी, लेखा परीक्षक इन्द्रमणि गैरेलगायतले शुभकामना र सुझाव दिएका थिए । सहकारीमा ११ जना सञ्चालक समितिका पदाधिकारी रहेका छन् । सञ्चालक समितिको अध्यक्ष रामप्रसाद अधिकारी, निवर्तमान अध्यक्ष हरिराम भण्डारी, उपाध्यक्ष सञ्जु तिमिल्सना, सचिव दीपकप्रसाद अधिकारी, कोषाध्यक्ष रामप्रसाद रिमाल र सदस्यमा रमादेवी न्यौपाने, केशवप्रसाद अधिकारी, कृष्णप्रसाद अधिकारी, रामजी भट्ट, नवराज कोइराला, रुकबहादुर ठकुरी हमाल र रमेश अधिकारी रहेका छन् । दीपकराज प्याकुरेल संयोजक, रामकृष्ण प्याकुरेल र बन्दना रिमाल सदस्य रहेको लेखा सुपरिवेक्षण समिति सहकारीको रहेको छ ।






प्रतिक्रिया