बृद्ध कर्मचारी : सुस्त हुलाक सेवा

  • त्रिशूली प्रवाह
  • १४ पुष २०७९, बिहीबार १३:०९
  • शरण उत्सुक सापकोटा

विदुर, वृद्ध कर्मचारी रहेको कारण हुलाक सेवा सुस्त र नागरिकको भरपर्दो बन्न सकिरहेको छैन । नुवाकोटमा हुलाक कार्यालयअन्तर्गत अतिरिक्त हुलाकमा कार्यरत अधिकांश कर्मचारी ज्येष्ठ नागरिक रहेका छन् ।

अतिरिक्त हुलाकमा कार्यरत हुलाक प्रतिनिधि, पत्रवितरक र डाँकबाहक एक सय ७० जनामध्ये ८४ वर्षसम्मका कर्मचारी रहेका छन् । अतिरिक्त हुलाकमा नियुक्त गर्दा सेवा, सर्त र उमेरको हद नतोकिँदा हटाउन नसकेको हुलाक कार्यालय नुवाकोटका प्रमुख नन्दकिशोर यादवले बताए । अतिरिक्त हुलाकमा हुलाक प्रतिनिधिको तलब आठ हजार तीन सय २०, पत्र वितरकको सात हजार दुई सय ७५ र डाँकबाहकको सात हजार दुई सय ७५ रुपैयाँ र दसैँ पेस्कीबाहेक अन्य सुविधा नभए पनि जागिर छोड्न नमान्नेलाई कार्यालयले हटाउन नसक्ने अवस्था रहेको यादवले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए । काम गर्न नसक्ने अवस्थाका कर्मचारीबाट हुलाकको सेवा चुस्त-दुरुस्त हुन सकेको छैन । ‘ज्येष्ठ र अशक्त अवस्थाका कर्मचारीलाई कार्यालयले पटक-पटक जागिर छाड्न आग्रह गर्दा मान्दैनन्,’ प्रमुख यादवले भने । अतिरिक्त हुलाकमा कार्यरत कर्मचारीलाई जागिर छाड्दा आधा महिनाको तलब पाउने व्यवस्था रहेको छ ।

हुलाकले नयाँ कामको खोजी गर्न र आधुनिक सूचना प्रवाह गर्न नसकेकोजस्तो अनेकौँ गुनासो पाइरहेको छ । सरकारले सङ्घीय संरचनाअनुसार नियम, कानुन बनाएर हुलाक सेवालाई रूपान्तरण गर्ने भनेको पनि वर्षौँ भइसकेको छ । हुलाक संवेदनशील सेवा क्षेत्र हुँदाहुँदै पनि कर्मचारीलाई पर्याप्त कामको व्यवस्थासहित आकर्षक सेवा, सुविधाको व्यवस्था गरी मनोबल उच्च बनाउन नसक्दा महत्वविहीन बनिरहेको छ । जनसम्पर्क हुने र स्थानीयस्तरसम्म पहुँच भएको हुलाकलाई सरकारले काम दिन नसकेको कारण अस्तित्व जोगाउन नसक्ने अवस्थामा पुगेको छ । हुलाकमा कार्यरत ज्येष्ठ नागरिक, कर्मचारीको उमेरको हद नरहेकाले हटाउन र करारमा नयाँ कर्मचारी राख्न सक्ने अवस्था नरहेको कारण देशभरि रहेका हुलाक कार्यालयको दायरा खुम्चिँदै गइरहेको छ ।

हुलाक कार्यालय नुवाकोटले जनशक्तिको अभाव झेल्दै सेवालाई जेनतेन निरन्तरता दिइरहेको छ । अहिले हुलाकलाई सरकारले चिठीपत्र वितरण र टिकट बिक्रीबाहेक पत्रपत्रिका, रेडियो, केबल टिभीको अनुगमन, निरीक्षण र नवीकरणको जिम्मेवारी दिएको छ । हुलाकलाई सुधार गर्ने योजना सरकारले नल्याए हुलाक इतिहासमा सीमित रहने नेपाल पत्रकार महासङ्घ नुवाकोटका सभापति कपिलदेव खनालले बताए । हुलाकलाई समयसापेक्ष बनाउन उमेरको हदबन्दी र करारमा कर्मचारी राख्ने अधिकार दिनुपर्ने धारणासमेत उनको छ । ‘ज्येष्ठ नागरिकलाई नै काम लगाइराख्नु भनेको ज्येष्ठ नागरिकप्रतिको राज्यले अपमान गरेको हुन्छ,’ सभापति खनालले बताए । विगतका समयमा व्यक्तिगत तथा पारिवारिक चिठीले भरिभराउ हुने हुलाक कार्यालय पछिल्लो समय खाली जस्तै छ । मोबाइल फोन विस्तारले तीव्रता लिएसँगै इमेल, इन्टरनेट, फेसबुक, म्यासेन्जरसहित सामाजिक सञ्जालको प्रयोग बढेपछि पछिल्लो समय हुलाकमा व्यक्तिगत चिठीपत्र आउन छाडेको हो ।

दिनहुँ सयौँ चिठीपत्र आउने हुलाक कार्यालयमा अहिले चिठी आउने सङ्ख्या घटेको छ । त्यो पनि व्यक्तिगत नभई सङ्घ–संस्था र केही कार्यालय वा सदरमुकामबाट निस्कने पत्रपत्रिका मात्रै जिल्ला हुलाक कार्यालयमा पुग्छन् । विगतमा खासगरी विदेशबाट धेरै चिठी आउने गरेको भए पनि अहिले चिठी आउन छाडेको जिल्ला हुलाक कार्यालय नुवाकोटले जनाएको छ । पछिल्लो समय जिल्ला हुलाक कार्यालयमा व्यक्तिगत र पारिवारिक चिठी आउन छाडेको जिल्ला हुलाक कार्यालय नुवाकोटका गोपाल अधिकारीले बताए । ‘प्रमाण पेस गर्नुपर्ने चिठी र स्वदेश तथा विदेशमा पठाउनुपर्ने चिठी मात्र आउने गरेको छ,’ उनले भने, ‘पहिले-पहिले घरायसी र पत्रमित्रताका चिठी थुप्रै आउने गरे पनि अहिले त्यो घटेको छ, अहिले सरकारी चिठी न्यून आउने गरेको छ भने देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेसँगै हुलाकमा सामान्य चिठी मात्रै पुग्ने गरेका छन् ।’ सबैको हातहातमा मोबाइल फोन र इन्टरनेटमाथि पहुँच बढेको हुँदा हुलाकमा चिठी आउने क्रम ह्वात्तै घटेको अधिकारीले बताए । व्यक्तिगत रूपमा केही रजिस्टर चिठी र बैंक तथा वित्तीय सङ्घ-संस्थाका चिठीपत्र आउने गरे पनि पहिला-पहिलाजस्तो गरी चिठी आउने क्रम घट्दै गइरहेको छ । मोबाइलको तीव्र विस्तारले चिठी लेख्ने क्रम नै हराउँदै जान थालेको छ ।

सूचना आदान–प्रदानको रूपमा कुनै समय एक-अर्कालाई पठाउने प्रमुख माध्यम हुलाक र चिठी भए पनि अहिले त्यो सबै ठाउँ फोनले लिएको छ । अब पछिल्लो पुस्ताले चिठी भनेको के हो भनेर सोध्ने अवस्थासमेत आइसकेको छ । विदेशमा पुग्नेले पनि तत्कालै टेलिफोन र सामाजिक सञ्जालको प्रयोगमा आफन्तसँग कुराकानी गर्ने गरेका छन् । टेलिफोन र सामाजिक सञ्जालका कारण विगतको चिठी लेखाउन र पढ्न लगाउन अर्काको घरदैलोमा पुग्नुपर्ने बाध्यता अन्त्य भएको छ । सामाजिक सञ्जाल र टेलिफोनको सहज उपलब्धताले दुर्गमका स्थानीयलाई समेत सहज भएको छ । तैपनि अझै चिठीलगायत महत्वपूर्ण कागजात पठाउने भरपर्दो माध्यम हुलाकलाई नै मानिन्छ ।