बेत्रावती, सदाको वर्षमा झैँ यसपालि पनि नुवाकोट-रसुवा जिल्लाको सिमाना बेत्रावतीबजारको ढाँडेबगरमा माघेसङ्क्रान्तिका दिन गोरुजुधाइ प्रदर्शनी हुने भएको छ ।
अघिल्लो दिन वृद्धाहरूका लागि घ्याम्पोफुटाइ, युवाहरूलाई खुला व्याडमिन्टन प्रतियोगिता, बेलुकी विशेष सांस्कृतिक कार्यक्रम हुने गोसाइँकुण्ड युवा क्लबका अध्यक्ष दिपु डङ्गोलले जानकारी दिए । गोरुजुधाइका लागि विभिन्न उपसमितिसमेत छनोट गरी काम बाँडफाँडसमेत गरिएको क्लबका सचिव ईश्वर थापा आइटमले बताए । गोरु छनोटका लागि पुस २५ गतेभित्र किसानले आफ्नो गोरु दर्ता गर्नुपर्नेछ । पछिल्लो समय बेत्रावतीको गोरुजुधाइ प्रदर्शनी व्यवस्थित हुँदै गइरहेको छ । यसलाई अझै सुव्यवस्थापनमा ध्यान पु¥याउन सबै व्यवसायी, सङ्घ-संस्था, समाजसेवी तथा बुद्धिजीवीसँग राय-सुझाव तथा आर्थिक सङ्कलनमा पहलका लागि आयोजकले आग्रहसमेत गरेको छ ।
परापूर्वकालदेखि नै बेत्रावतीका स्थानीयले माघेसङ्क्रान्तिका दिन बेत्रावतीका सम्राटा, सत्री, जुडी, दहका खेतका फाँटमा किसानले मिलेर आ-आफ्नो गोरु जुधाउने प्रचलन थियो । ‘जित्ने किसानले हार्ने गोरु नै लाने गरिन्थ्यो रे,’ बेत्रावतीका १०१ वर्षका वृद्ध बुद्धिमान डङ्गोलले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए । विगत ०६० सालदेखि गोसाइँकुण्ड युवा क्लबले स्थानीयको सहयोगमा व्यवस्थित तरिकाले गोरु जुधाउँदै आएको छ ।
प्रतिक्रिया