ढुङ्गे, नौ वर्षअघि दर्ता भई सञ्चालनमा आएको माता मनकामना बचत तथा ऋण सहकारी संस्था लि. विदुर नगरपालिका-१ ढुङ्गेको नवौँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाले नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ ।
साधारणसभाबाट सञ्चालक समितिको अध्यक्षमा नवीनकृष्ण राजभण्डारी, उपाध्यक्षमा राजेन्द्र थपलिया, सचिवमा अमरबहादुर कार्की, कोषाध्यक्षमा शिवलाल श्रेष्ठ र सदस्यमा बलराम डङ्गोल, दीपकप्रसाद रिजाल, ज्ञानु तामाङ रहेका छन् । सहकारीको स्थापनादेखि नै अध्यक्ष रहेका नवीनकृष्ण राजभण्डारीलाई नवौँ साधारणसभाले पुनः अध्यक्षमा चयन गरेको हो । विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले उद्घाटन गरेको साधारणसभामा उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्की, जिल्ला सहकारी सङ्घका सहसचिव ओमप्रकाश श्रेष्ठ, नुवाकोट निर्माण व्यवसायी सङ्घका निवर्तमान अध्यक्ष सुमन अधिकारी, विदुर नगर सहकारी समन्वय समितिका संयोजक नवीन्द्रमान प्रधानलगायतले सहकारीको विविध पक्षमा बोलेका थिए । साधारणसभाले लेखा सुपरिवेक्षण समितिमा रामेश्वर गुणीलाई संयोजक र रामकुमार श्रेष्ठ र समीक्षा तामाङलाई सदस्यमा चयन गरेको छ । सहकारीको सल्लाहकारमा राजकुमार डङ्गोल र राजकुमार थापामगर चयन भएका छन् । सहकारीले २०७८ को एसइई परीक्षामा सेयर सदस्यको छोराछोरीमध्ये सबैभन्दा बढी अङ्क ल्याउने एकजना र चिकित्साशास्त्रको स्नातक (डाक्टर) उत्तीर्णलाई समेत सम्मान गरेको छ । सो कार्यक्रममा सेयर सदस्य स्वयमकृष्ण राजभण्डारीको छोरी श्वेता राजभण्डारी एसइईतर्फ र एमबिबिएस उत्तीर्ण सेयर सदस्य सुमन अधिकारीको छोरी अनु अधिकारीलाई सम्मान गरेको थियो । सहकारीले सेयर सदस्यका छोराछोरीमध्ये प्रावि तहमा अध्ययन गर्ने उत्कृष्टमध्ये सामुदायिक विद्यालयतर्फको सेयर सदस्य पूर्णप्रसाद थपलियाको छोरा सुप्रिम थपलिया र निजी विद्यालयतर्फको सेयर सदस्य अमर कार्कीको छोरी आर्या कार्कीलाई सम्मान गरी नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।
सहकारीले साधारणसभामा असल बचतकर्ता विष्णु रोक्का विनपा-१ ढुङ्गे, सुविन श्रेष्ठ विनपा-२ बट्टार र असल ऋण कारोबार गर्ने तीर्थलाल श्रेष्ठ विनपा-१ त्रिशूलीबजारलाई सम्मान गरेको थियो । गत ०७९ वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा निर्वाचित सेयर सदस्य राजन श्रेष्ठ विदुर नगरपालिकाको मेयर, लेनिन रञ्जित विनपा-१ वडाध्यक्ष, भगवती राजभण्डारी विनपा-१ वडासदस्य, रामगोपाल श्रेष्ठ विनपा-१ वडासदस्य र सहकारीको स्थापनादेखि नौ वर्षसम्म उपाध्यक्ष पदमा रही हाल काठमाडौं बसोवास गर्ने राजकुमार डङ्गोललाई सम्मान गरिएको थियो । विदुर नगरपालिका-१ ढुङ्गेमा कार्यालय रहेको माता मनकामना सहकारीमा महिला र पुरुष गरी एक हजार पाँच सय ७८ सेयर सदस्य रहेका छन् । सहकारीको कुल चुक्तापुँजी एक करोड ६ लाख २० हजार तीन सय रुपैयाँ रहेको अध्यक्ष नवीनकृष्ण राजभण्डारीले जानकारी दिए । सहकारीले यस आ.व.मा तीन करोड सेयर पुँजी पु¥याउने साधारणसभाले निर्णय गरेको छ । सहकारीले गत आ.व.मा तीन करोड एक लाख ४४ हजार चार सय ३९ बचत सङ्कलन र तीन करोड १७ लाख ७४ हजार पाँच सय ३३ बचत फिर्ता गरेको थियो ।






प्रतिक्रिया