पर्यटकीय क्षेत्र ककनीबाट सशस्त्र प्रहरी तालिम केन्द्र हटाउन स्थानीयको माग

  • त्रिशूली प्रवाह
  • २१ पुष २०७९, बिहीबार १५:१२

रानीपौवा, काठमाडौंको नजिकको दूरी र उच्च स्थानमा रहेको पर्यटकीय क्षेत्र ककनी सशस्त्र प्रहरी बलको तालिम केन्द्रका कारण पछि परेको छ । नुवाकोटको प्रमुख पर्यटकीय स्थलको रूपमा रहेको ककनी बालाजु–रानीपौवा सडक स्तरोन्नति गर्ने भन्दै भत्काएर छाडेपछि पर्यटकको आगमन कम भइरहेको छ । आएका पर्यटक पनि सशस्त्र प्रहरी बलको तालिम केन्द्रको कारण घटिरहेको स्थानीयले गुनासो गरेका छन् ।
पर्यटक आउजाउ गर्ने मुख्य गेटमै रहेको सशस्त्र प्रहरीको तालिम केन्द्र र उनीहरूले नियमित रूपमा गर्ने गतिविधिका कारण ककनी आवत-जावत गर्न मन पराउने पर्यटक भड्किएको पर्यटन प्रवद्र्धनमा सक्रिय स्थानीय शोभा लामाले बताइन् । स्थानीय महिला समूहले सशस्त्र प्रहरीको तालिमका कारण दैनिक जीवनयापनमा समेत समस्या हुन थालेकोे नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्याललाई ककनीमै गत हप्ता भेटेर तालिम केन्द्र नै सार्न आग्रह गरेका थिए । उनीहरूले तालिम केन्द्र सार्न पाए हुन्थ्यो भन्दै आफू सुरक्षित नभएको बताएका छन् । दसैँमा सशस्त्र प्रहरीले चलाएको अश्रुग्यासका कारण आफ्नो घरमा आएको पाहुना नै बेहोस भएको शोभा लामाले सहायक प्रमुख जिल्ला अधिकारीको टोलीलाई बताइन् ।

ककनीका महिलाले सशस्त्र प्रहरीले बाटो नै रोक्ने गरी एकनासले गर्ने तालिमका कारण ककनी आउने आन्तरिक र बाह्य पर्यटकले हिँड्ने बाटोसमेत नपाउने गरेको बताएका छन् । विदेशी पर्यटक बढी आत्तिने गरेको उनीहरूको भनाइ छ । पिकनिक आउनेले बजाएको गीतले चाहिँ जन्यजन्तुलाई डिस्टर्भ भयो भन्दै बन्द गराउने राष्ट्रिय निकुञ्ज सशस्त्र प्रहरीले हानेको गोली लागेर जनावर घाइते हुँदासमेत चुपचाप रहने गरेको स्थानीयको गुनासो रहेको छ । स्थानीयले आफ्नो बस्तीवरपर प्रहरीले तालिमका नाममा गर्ने ‘फायरिङ’ रोक्न र तालिमका लागि सशस्त्र प्रहरीलाई मुख्य बजारभन्दा बाहिरको बाटो प्रयोग गर्न आग्रह गरेका छन् । स्थानीयले यो विषय तामिल केन्द्रलाई पटक–पटक लिखित र मौखिक गुनासो गरिएको भए पनि तालिम केन्द्रले बेवास्ता गरेको बताएका छन् ।