बौद्ध धर्मावलम्बीको आस्थाको धरोहरको यो अवस्था

  • त्रिशूली प्रवाह
  • २१ पुष २०७९, बिहीबार १५:१८
  • सुजन डङ्गोल

बेत्रावती, नुवाकोट जिल्लाको विदुर नगरपालिका-१० बेत्रावतीबजार सुरु हुने स्थानमा रहेको बौद्ध धर्मावलम्बीको आस्थाको धरोहरको यो अवस्था……….

२०४४ सालमा बेत्रावतीनिवासी स्व. राममणि डङ्गोलले साबिक गेर्खु गाविस-४ हाल विनपा-१० बेत्रावतीमा पाँच आना ३ पैसा (२० हात) जग्गा बौद्ध विहार स्तुपा निर्माण गर्न निःशुल्क प्रदान गरेका थिए । ०४८ मङ्सिरमा विहार निर्माण गरी ०४८ सालकै पौषेऔँसीको दिन बुद्धको मूर्ति रत्नकाजी शाक्यले दान गरी प्रतिस्थापना गरिएको थियो । उक्त मूर्ति ०५१ साल माघमा चोरी भएपछि थाइल्यान्डका भवी भन्तेले प्रदान गरेको मूर्ति ०५१ जेठमा पुनः नयाँ मूर्ति प्रतिस्थापना गरी दैनिक पूजा-आराधना र स्थानीय जग्गादाताकै सन्तानले संरक्षण गर्दै आइरहेका थिए । गल्छी-त्रिशूली-बेत्रावती-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडक योजनाले सडक स्तरोन्नति एवम् विस्तार गर्ने क्रममा टेवा पर्खाल लगाई विहारलाई पछाडि वा अन्यत्र सार्न सुझावसहित सडकले चर्चेको जग्गाको मुआब्जा दिएकोसम्म जानकारी स्थानीयले पाएका छन् ।

स्थानीयको भनाइअनुसार त्रिशूली बजारमा रहेको सुगतपुर विहारमण्डलका पदाधिकारीले उक्त रकम झिकेको र त्यसपछि विहारलाई वास्ता गर्न छाडेका छन् । जग्गादाताका छोरा तुलसीनारायण डङ्गोललगायत स्थानीय भद्रभलाद्मी उक्त विहार बनाउन आवश्यक जग्गा निःशुल्क दिने र सहयोग गर्ने बताएका छन् । सम्बन्धित पक्षले उक्त विहारलाई बेवारिस छाडेपछि बेत्रावतीवासी त्रिशूलीका यस विहारसँग सम्बन्धित व्यक्तिसँग रुष्ट हुँदै स्थानीय प्रशासनको सहयोग माग्ने तयारीमा जुटेका छन् । विहारको उक्त जग्गाको मुआब्जा रकम बुझेर भगवान्को अपेक्षा गर्नेहरूलाई भगवान्ले भलो नगर्नेसमेत स्थानीयले बताएका छन् ।