धुन्चे, रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका-२ टिमुरे खैदीमा रहेको सेदङगुरु गुम्बा ऐतिहासिक धार्मिक हिसाबले निकै महत्वपूर्ण ठाउँ रहेको भए पनि प्रचार-प्रसारमा आउन सकेको छैन ।
सातौँ शताब्दीमा गुरु रिम्पोक्षे (पद्मसम्भव)ले गुम्बा निर्माण गरेको भन्ने किंवदन्ती रहेको छ । यो एउटा सेदङगुरु गुम्बा भएका कारण टिमुरे खैदीलाई पवित्र स्थानको पुन्यभूमिको रूपमा चिनिन्छ । यस छोर्तेनको ढुङ्गामा बौद्ध धर्मका मन्त्र रहेका छन् । हरेक वर्ष जनैपूणिमाको अवसरमा ठूलो मेला लाग्दछ । यस मानेलाई हेर्दा मानिसले बनाएको देखिए पनि गुरु पद्मसम्भवले राक्षससँग लडाइँ गर्ने बेलामा एकै रातमा याकलाई ढुङ्गा र कमिलालाई माटो ओसार्न लगाएर बिहान उज्यालो हुन नपाई यो माने बनाएको भन्ने किंवदन्ती रहेको छ । धार्मिक महत्व र आस्था बोकेको ठाउँलाई व्यापक प्रचार-प्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटकको वृद्धि हुने अपेक्षा रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले गरेका छन् । सातौँ शताब्दीमा बनेको पुरानो यो सेदङ गुम्बा संरक्षण र संवद्र्धनमा स्थानीय सरकार र अन्य सरोकारवालाको ध्यान नपुगेको गुनासो स्थानीय व्यवसायी पदम रुम्बा तामाङले गरेका छन् ।