चिनियाँ टोली रेलमार्ग सर्भे गर्न रसुवागढीमा

  • त्रिशूली प्रवाह
  • २८ पुष २०७९, बिहीबार १३:२४
  • सरस्वती न्यौपाने

धुन्चे, नेपालको बहुचर्चित केरुङ-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्न दुई हप्ताअघि काठमाडौं आएको चिनियाँ प्राविधिक टोली फिल्ड सर्भेका लागि रसुवागढी आइपुगेको छ ।

चिनियाँ प्राविधिक टोलीसहित रेल विभागका महानिर्देशक रोहित बिसुरालको संयुक्त टोली सर्भेका लागि रसुवागढी आइपुगेको हो । टोलीले स्याफ्रुबेँसी, धुन्चे, रसुवागढी, टिमुरेलगायत क्षेत्रमा सर्भे गर्ने महानिर्देशक बिसुरालले जानकारी दिए । टोलीमा विभागका सूचना अधिकारीसमेत रहेको सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारलगायत सहभागी छन् । सम्भाव्यता अध्ययनका लागि पुस १२ मा काठमाडौं आएको टोलीले पहिलो चरणमा फिल्ड सर्भेको काम गर्ने रेल विभागले जनाएको छ । टोलीले तीन हप्तासम्म नेपाल बसेर फिल्ड सर्भे गर्ने कार्यक्रम रहेको छ । त्यसपछि चिनियाँ टोली करिब डेढ महिनाका लागि चीन फर्कनेछ ।