बागमतीको मुख्यमन्त्रीमा धादिङका जम्कट्टेल

  • त्रिशूली प्रवाह
  • २८ पुष २०७९, बिहीबार १४:४६

हेटौँडा, माओवादी केन्द्रमा मजदुर नेताका रूपमा आफ्नो परिचय बनाएका धादिङ जिल्लाका शालिकराम जम्कट्टेल बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

नेकपा माले, राप्रपाको सहयोगमा माओवादी केन्द्र संसदीय दलका नेता रहेका जम्कट्टेल दोस्रो प्रयासमा मुख्यमन्त्री भएका हुन् । उनी प्रदेश सभाको अघिल्लो कार्यकालमा माओवादी केन्द्रबाट संसदीय दलका नेता थिए । उनले तत्कालीन नेकपा विभाजनपश्चात् मुख्यमन्त्रीका रूपमा आफूलाई लबिङ गरे पनि सफल भएका थिएनन् । त्यसबेला बागमती प्रदेशको मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीलाई दिइएको थियो । निर्वाचनपछि पुरानो गठबन्धन भत्केर केन्द्रमा एमाले र माओवादी मिलेपछि यसपटक जम्कट्टेललाई मुख्यमन्त्री बन्ने अवसर आइपुगेको हो । ०३० साल भदौमा धादिङको साबिक किराञ्चोक गाविस-९ मा जन्मिएका जम्कट्टेल हाल माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवम् धादिङ जिल्ला इन्चार्ज छन् ।

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् । उनी सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन् । प्रदेशको चौथो मुख्यमन्त्री नियुक्त भएका जम्कट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथग्रहण गराएका थिए । शपथ लिएलगत्तै उनले तीन सदस्यीय मन्त्रिपरिषद् पनि विस्तार गरेका छन् । उनले नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपा संसदीय दलका नेता उद्धव थापालाई सरकारमा लैजान लागेका हुन् । थपलियाले अर्थ मन्त्रालय सम्हाल्नेछन् भने थापाको मन्त्रालय अझै टुङ्गिएको छैन । जम्कट्टेलले आफूलाई समर्थन गरेका दलसँगको छलफलपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने जनाएका छन् ।