कराँते प्रतियोगिताको तयारी

  • त्रिशूली प्रवाह
  • ५ माघ २०७९, बिहीबार १२:४२
  • सरस्वती न्यौपाने

धुन्चे, सोनाम ल्होसारको अवसरमा रुवा स्पोर्टस् एकेडेमीको आयोजनामा माघ ७ र ८ गते कालिका गाउँपालिका-१ राम्चेमा कराँते प्रतियोगिता हुने भएको छ ।

हिमाली जिल्ला रसुवामा तामाङ समुदायको मौलिक परम्परा, कला, संस्कृति र पर्यटन क्षेत्रको प्रवद्र्धन गरी खेलकुद क्षेत्रमा निखारता ल्याउन जिल्लामा नै पहिलोपटक तामाङ सांस्कृतिक कार्यक्रम तथा कराँते प्रतियोगिता आयोजना हुने भएको छ । रुवा स्पोर्टस् एकेडेमीको आयोजनामा माघ ७ र ८ गते कालिका गाउँपालिका-१ राम्चेमा रहेको खेलकुद मैदानमा जिल्लाको २७ वटै वडाका एक सय ६० कराँते खेलाडी र तामाङ सांस्कृतिक समूहका दुई सय ८० जना सहभागी हुने गरी कार्यक्रम सञ्चालन हुन लागेको छ । ल्होसारको अवसरमा आयोजना हुन लागेको कार्यक्रममा कराँते प्रतियोगितामा पुरुषतर्फ २० देखि ६० केजी तौल समूह र महिलातर्फ २० देखि ५५ केजी तौल समूहका खेलाडी सहभागी हुनेछन् । उनीहरूले मेडल र प्रमाणपत्र पाउनेछन् । राइजिङ स्टार महिला र पुरुष दुईजना र बेस्ट प्लेयर महिला र पुरुषलाई ट्रफी र नगद पाँच हजार प्रदान गरिने बताइएको छ । तामाङ सांस्कृतिक प्रतियोगिता सम्भवतः जिल्लामा नै पहिलो हुन लागेको हो । यस प्रतियोगितामा जिल्लाको २७ वटा वडाबाट दुई सय ८० जना महिला तथा पुरुष सहभागी हुनेछन् । प्रथम हुनेलाई ४० हजार, द्वितीय हुनेलाई ३० हजार, तृतीय हुनेलाई १० हजारसहित प्रमाणपत्र र मेडल प्रदान गरिने एकेडेमीका अध्यक्ष विजय मोक्तानले जानकारी दिए ।

तामाङहरूको संस्कृति झल्काउने पहिरन र भाषा प्रयोगका साथै अनिवार्य टुङ्ना र विगुल हुनुपर्ने र एक समूहमा पाँच महिला र पाँच पुरुष अनिवार्य हुनुपर्ने बताइएको छ । सोनाम ल्होसारको अवसरमा आयोजना हुन लागेको यस कार्यक्रम तामाङ चौतारी हाई (वर, वर हाई) तामाङ दोहोरी अनिवार्य हुनुपर्ने अध्यक्ष मोक्तानले जानकारी दिए ।