पञ्चकन्या सहकारीका सेयर सदस्य सम्मानित

  • त्रिशूली प्रवाह
  • ५ माघ २०७९, बिहीबार १३:२५

विदुर, २३ वर्षअगाडि स्थापना भएको नुवाकोटको अग्रणी सहकारी पञ्चकन्या बचत तथा ऋण सहकारी संस्था लि.को २३औँ वार्षिक साधारणसभामा सेयर सदस्य सम्मानित भएका छन्

शनिबार सम्पन्न वार्षिक साधारणसभामा स्थापनाकालदेखि हालसम्म सहकारीलाई महत्वपूर्ण योगदान गर्ने सेयर सदस्यलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि विदुर नगरपालिका-२ का अध्यक्ष दीपक कायस्थले आर्थिक गतिविधि विस्तार गर्दै सहकारी संस्थाले जिल्लाको वित्तीय मागलाई पूरा गरिरहेको बताए । साधारणसभालाई शुभकामना दिँदै सहकारीलाई अलग राखेर आर्थिक क्रियाकलाप र समृद्धिको यात्रा अधुरो हुनेसमेत उनले बताए । उनले कार्यक्रममा सेयर सदस्य बलराम थापा, कृष्णबहादुर थापा, रामशरण तामाङ, अनन्तकुमार रिजाल, राजन रैला, गोमा धमला, विद्यानाथ न्यौपाने, वेजन्ती राजवंशी, शारदा कारञ्जितलाई नगदसहित सम्मानपत्र प्रदान गरेका थिए । सो कार्यक्रमका विशेष अतिथि नुवाकोट उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष शरण उत्सुक सापकोटाले पञ्चकन्या सहकारी स्थापना भएपछि जिल्लामा सहकारीको बढी नै आएको बताए । पञ्चकन्या सञ्चालन भएपछि जिल्लामा बचत र ऋणको कारोबार चेकको माध्यमबाट सुरु गर्दै बैंकले गर्ने विविध प्रकारको सेवा सुरु भएको थियो ।

सहकारीका संस्थापक अध्यक्ष श्रीकृष्ण रिजालले सेयर सदस्यलाई सम्मान गर्दै जाने कार्यक्रम रहेको सो कार्यक्रममा जानकारी दिए । सहकारीले बचत फिर्ता क्रमशः दिइरहेको, सहकारीले जग्गामा लगानी गरेकाले जग्गा बिक्री गरेर सबै बचतकर्ताको रकम फिर्ता गर्र्नेसमेत उनले बताए । मालपोत कार्यालयले विगत ६ महिनादेखि जग्गाको कित्ताकाट रोकेकोमा मंगलबारदेखि खुला गरेकाले सहकारीमा आर्थिक तरलताको समस्या अब हल हुनेसमेत उनको भनाइ थियो । सो कार्यक्रममा सेयर सदस्य विश्वराज भट्टराई, गणेश भ्यु बाटिका स्कुलका प्रिन्सिपल केशवराम तिमिल्सनालगायतले सहकारीको सफलताको शुभकामना दिएका थिए । साधारणसभामा अध्यक्ष रमेश श्रेष्ठ, कोषाध्यक्ष सरोज दाहाल, लेखा समितिका संयोजक विनोदराज खरेलले प्रस्तुत गरेको प्रतिवेदन पारित भएको छ । सहकारीको कुल पुँजी ८० लाख ४५ हजार तीन सय रहेको छ । परम्परागत सहकारी कारोबारलाई अन्त्य गर्दै परिवर्तित समयको नीति, विधि र प्रविधिको उच्चतम प्रयोग गर्दै गुणस्तरीय तथा दिगो सहकारी संस्थाको रूपमा विकास गर्ने नीति र योजनाको साथ अगाडि बढ्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ ।