+
Search

ताजा अपडेट +

पपुलर +

पञ्चकन्या सहकारीका सेयर सदस्य सम्मानित

त्रिशूली प्रवाह
३ साल अगाडी

विदुर, २३ वर्षअगाडि स्थापना भएको नुवाकोटको अग्रणी सहकारी पञ्चकन्या बचत तथा ऋण सहकारी संस्था लि.को २३औँ वार्षिक साधारणसभामा सेयर सदस्य सम्मानित भएका छन्

Utsuk Books & Stationery

शनिबार सम्पन्न वार्षिक साधारणसभामा स्थापनाकालदेखि हालसम्म सहकारीलाई महत्वपूर्ण योगदान गर्ने सेयर सदस्यलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि विदुर नगरपालिका-२ का अध्यक्ष दीपक कायस्थले आर्थिक गतिविधि विस्तार गर्दै सहकारी संस्थाले जिल्लाको वित्तीय मागलाई पूरा गरिरहेको बताए । साधारणसभालाई शुभकामना दिँदै सहकारीलाई अलग राखेर आर्थिक क्रियाकलाप र समृद्धिको यात्रा अधुरो हुनेसमेत उनले बताए । उनले कार्यक्रममा सेयर सदस्य बलराम थापा, कृष्णबहादुर थापा, रामशरण तामाङ, अनन्तकुमार रिजाल, राजन रैला, गोमा धमला, विद्यानाथ न्यौपाने, वेजन्ती राजवंशी, शारदा कारञ्जितलाई नगदसहित सम्मानपत्र प्रदान गरेका थिए । सो कार्यक्रमका विशेष अतिथि नुवाकोट उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष शरण उत्सुक सापकोटाले पञ्चकन्या सहकारी स्थापना भएपछि जिल्लामा सहकारीको बढी नै आएको बताए । पञ्चकन्या सञ्चालन भएपछि जिल्लामा बचत र ऋणको कारोबार चेकको माध्यमबाट सुरु गर्दै बैंकले गर्ने विविध प्रकारको सेवा सुरु भएको थियो ।

सहकारीका संस्थापक अध्यक्ष श्रीकृष्ण रिजालले सेयर सदस्यलाई सम्मान गर्दै जाने कार्यक्रम रहेको सो कार्यक्रममा जानकारी दिए । सहकारीले बचत फिर्ता क्रमशः दिइरहेको, सहकारीले जग्गामा लगानी गरेकाले जग्गा बिक्री गरेर सबै बचतकर्ताको रकम फिर्ता गर्र्नेसमेत उनले बताए । मालपोत कार्यालयले विगत ६ महिनादेखि जग्गाको कित्ताकाट रोकेकोमा मंगलबारदेखि खुला गरेकाले सहकारीमा आर्थिक तरलताको समस्या अब हल हुनेसमेत उनको भनाइ थियो । सो कार्यक्रममा सेयर सदस्य विश्वराज भट्टराई, गणेश भ्यु बाटिका स्कुलका प्रिन्सिपल केशवराम तिमिल्सनालगायतले सहकारीको सफलताको शुभकामना दिएका थिए । साधारणसभामा अध्यक्ष रमेश श्रेष्ठ, कोषाध्यक्ष सरोज दाहाल, लेखा समितिका संयोजक विनोदराज खरेलले प्रस्तुत गरेको प्रतिवेदन पारित भएको छ । सहकारीको कुल पुँजी ८० लाख ४५ हजार तीन सय रहेको छ । परम्परागत सहकारी कारोबारलाई अन्त्य गर्दै परिवर्तित समयको नीति, विधि र प्रविधिको उच्चतम प्रयोग गर्दै गुणस्तरीय तथा दिगो सहकारी संस्थाको रूपमा विकास गर्ने नीति र योजनाको साथ अगाडि बढ्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह