साथी उपभोक्ता सहकारीको साधारणसभा सम्पन्न

  • त्रिशूली प्रवाह
  • ५ माघ २०७९, बिहीबार १३:३४

बट्टार, विदुर नगरपालिकाभित्र कार्यक्षेत्र रहेको साथी उपभोक्ता सहकारी संस्थाको १३औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

०६६ साल चैत ४ गते डिभिजन सहकारी कार्यालयमा दर्ता भई २०६७ भदौ ६ गते कार्यालय स्थापना गरेर कारोबार सुरु गरेको साथी सहकारीले नगर क्षेत्रभित्र छुट्टै पहिचान बनाउन सफल भइरहेको छ । युवापिँढी सेयर सदस्य रहेको साथी सहकारीको साधारणसभाको उद्घाटन विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले गरेका थिए । सहकारीका संस्थापक सेयर सदस्यसमेत रहेका मेयर श्रेष्ठले उद्घाटन मन्तव्यमा साथी सहकारीलाई उत्पादनमूलक कार्य गरेर राज्यको परनिर्भरतालाई कम गर्नुपर्ने बताए ।

सहकारीका अध्यक्ष राजनमान श्रेष्ठको सभापतित्वमा भएको साधारणसभामा कोषाध्यक्ष गोकुल श्रेष्ठले प्रस्तुत गरेको बजेट कार्यक्रम तथा प्रगति विवरण, लेखा सुपरीवेक्षण समितिको संयोजक रोमनाथ आचार्यको प्रतिवेदन छलफलसहित पारित भएको छ । ६ सय ७६ पुरुष र चार सय २७ महिलासहित एक हजार एक सय तीन सेयर सदस्य रहेको सहकारीको एक करोड पाँच लाख ८९ हजार सात सय सेयरपुँजी रहेको छ । सहकारीले आ.व. ०७८÷७९ मा ३० लाख एक हजार चार सय सेयरपुँजी वृद्धि गरेको कोषाध्यक्ष गोकुल श्रेष्ठले जानकारी दिए । सहकारीले सेयर सदस्य विस्तारसँगै सेयरपुँजी वृद्धि गर्दै लैजाने लक्ष्य लिएको छ । साधारणसभामा मेयर राजन श्रेष्ठ, विदुर नगरपालिका-४ का अध्यक्ष निलमबाबु ढुङ्गेलले उत्कृष्ट बचतकर्ता सन्तोषीदेवी दास, उत्कृष्ट बाल मुद्दती बचतकर्ता अमृता श्रेष्ठ र उत्कृष्ट कर्जा कारोबार गर्ने जनक श्रेष्ठलाई सम्मान गरेका थिए । सो कार्यक्रममा गत ०७८ को एसइई परीक्षामा सेयर सदस्यका छोराछोरीमध्ये उत्कृष्ट श्रेणीमा उत्तीर्णलाई हौसला प्रदान गर्न सम्मान गरिएको थियो । कार्यक्रममा सेयर सदस्य सुजन सापकोटाको छोरा सुमित सापकोटा र सेयर सदस्य शैलेन्द्र बज्राचार्यकी छोरी सम्प्रदा बज्राचार्य सम्मानित भएका छन् । सहकारीले स्थापनाको १२ वर्षमा सामाजिक उत्तरदायित्वलाई आत्मासात् गर्दै सामाजिक तथा रचनात्मक कार्य गर्दै आइरहेको छ । सहकारीले सेयर सदस्यको सामाजिक र आर्थिक उन्नतिका लागि निरन्तर प्रयासरत रहेको अध्यक्ष राजन श्रेष्ठले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए ।