कैदीबन्दीलाई योग प्रशिक्षण

  • त्रिशूली प्रवाह
  • ५ माघ २०७९, बिहीबार १३:४३

देवीघाट, आठौँ राष्ट्रिय योग दिवस ‘स्वस्थ जीवनको चाहना योग शिक्षा र साधना’ भन्ने नाराका साथ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, देवीघाट, नुवाकोटको आयोजनामा जिल्ला कारागार नुवाकोटमा रहेका कैदीबन्दीलाई तीनदिने योग शिविर सञ्चालन गरी सम्पन्न भएको छ ।

शिविर पुस ३० देखि माघ २ गतेसम्म योग गुरु जाफरदिन मियाँको प्रशिक्षणमा सञ्चालन गरिएको थियो । राष्ट्रिय योग दिवस माघ १ गते सहभागीको सामान्य स्वास्थ्य प्रशिक्षण पनि गरिएको थियो । उक्त योग शिविरको उद्घाटन पुस ३० गते निमित्त प्रजिअ वेदप्रसाद अर्यालले गर्दै योगको महत्वबारे प्रकाश पारेका थिए । सो कार्यक्रममा कर्मचारी मिलन केन्द्र नुवाकोटका अध्यक्ष दीर्घनारायण कोइराला र जिल्ला कारागार नुवाकोटको प्रमुख गंगालाल योगीले कारागारमा रहेका कैदीबन्दीलाई योगले पार्ने सकारात्मक प्रभावबारे आफ्नो मन्तव्य राखेका थिए । जिल्ला स्वास्थ्य केन्द्र, देवीघाटले कैदीबन्दीको स्वास्थ्य प्रवद्र्धन गर्ने उद्देश्यले योग शिविर राखेको जानकारी गराउनुका साथै यस्ता कार्यक्रम वर्षभरि सञ्चालन गर्न सकिने केन्द्रका नारायणप्रसाद वस्तीले बताए ।