+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोट आदर्श बहुमखी क्याम्पस विस्तारित कार्यसम्पादन कार्यक्रममा छनोट

नुवाकोट आदर्श बहुमखी क्याम्पस विस्तारित कार्यसम्पादन कार्यक्रममा छनोट
त्रिशूली प्रवाह
२ साल अगाडी

बट्टार, विश्वविद्यालय अनुदान आयोगले विश्व बैंकको ऋण सहयोगमा सञ्चालनमा ल्याएको उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन कार्यक्रम Nurturing Excellence in Higher Education Program (NEHEP) अन्तर्गतको विस्तारित कार्यसम्पादनमा आधारित अनुदान (Extended Performance Based Funding) कार्यक्रममा नुवाकोट आदर्श बहुमुखी क्याम्पस छनोट हुन सफल भएको छ ।

क्याम्पस अनुदान कार्यक्रममा सहभागिताका लागि प्राप्त भएको प्रस्तावना मूल्याङ्कनका आधारमा छनोट भएको हो । क्याम्पसले निर्धारित मापदण्ड पूरा गरेको तथा शैक्षिक गुणस्तर अभिवृद्धिसमेत भएको र क्याम्पसको लक्ष्य, रणनीतिक योजना, नीति तथा कार्यक्रम, सुशासन, तथ्याङ्क व्यवस्थापनसमेतको आधारमा परियोजनामा छनोट भएको क्याम्पस प्रमुख सुकुमान डङ्गोलले बताए । यो परियोजनाअन्तर्गत शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विभिन्न १९ वटा क्षेत्रमा कार्य गर्न सकिनेसमेत क्याम्पस प्रमुख डङ्गोलले बताए । नेपाल राज्यको मानचित्रमा मध्यमाञ्चल विकास क्षेत्रको बागमती प्रदेशअन्तर्गत राजधानी काठमाडौंको उत्तर-पश्चिम दिशामा अवस्थित नुवाकोटको एक अब्बल क्याम्पस नुवाकोट आदर्श बहुमुखी क्याम्पस रसुवा, नुवाकोट र धादिङको एक ऐतिहासिक पृष्ठभूमिले सज्जित क्याम्पस, त्रिदेशीयमार्ग पासाङल्हामु राजमार्गमा अवस्थित यस क्याम्पसमा हाल बहुसङ्कायमा स्नातकोत्तर तहसम्मको पठन–पाठन भइरहेको छ । ०४२ माघमा स्थापित क्याम्पस विभिन्न आरोह-अवरोह पार गर्दै आफ्नो गतिमा अघि बढिरहेको छ । भौतिक, भौगोलिक, शैक्षिक ब्रान्डको हिसाबले यो क्याम्पस आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । क्याम्पस परिवर्तन गर्न र विकास गर्नका लागि विभिन्न प्रयास भएका छन् । यी प्रयासमध्ये विश्वविद्यालय अनुदान आयोगद्वारा सञ्चालित उच्च शिक्षा परियोजनामा सी स्किममा छनोट भई उच्च कार्यसम्पादन गर्न सफल भयो भने सन् २०१५ देखि २०२० अवधिका उच्च शिक्षा सुधार परियोजना सम्पन्न भइसकेको छ ।

गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्छ र उच्च शिक्षालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको बनाउनुपर्छ भन्ने अभिप्रायले ०६८ सालदेखि नै गुणस्तरीय सुनिश्चितता प्रत्याभूति (क्युएए) प्रक्रियामा अघि बढेको थियो । क्युएए प्रक्रियाका एक सय २० वटा मापदण्डअन्तर्गतका कतिपय सूचक पूरा गर्दै अघि बढ्ने क्रम तथा ०७२ सालको भूकम्पको प्रभावका कारण ०७२ साल मङ्सिर १ गते स्वअध्ययन प्रतिवेदन पेस भई ०७६ साल असार ७ देखि ९ गतेसम्म प्रा.डा. वासुदेव काफ्लेको संयोजकत्वमा गठित समितिद्वारा प्रिभिजिट सम्पन्न भइसकेको छ । सो समितिले क्युएए प्रमाणीकरण गर्न विभिन्न आठवटा विधामा आवश्यक सुझाव प्रदान गरेको छ । हाल क्याम्पसले प्रिभिजिटबाट प्राप्त सुझावलाई पूरा गर्ने चरण रहेको छ । क्याम्पसको हातालाई व्यवस्थित तथा आकर्षक, क्यान्टिनको व्यवस्थापन, शिक्षक तथा कर्मचारीको व्यवस्थापन, कक्षाकोठालाई डिजिटलाइजनजस्ता कार्य सम्पन्न भइसकेको छ । सबै मापदण्ड लगभग पूरा भइसकेको र क्याम्पस र विभिन्न सङ्घ-संस्थाको सम्बन्धका कारण क्याम्पसको भौतिक तथा शैक्षिक गतिविधिमा आमुल परिवर्तन हँुदै गएको छ । क्याम्पसप्रमुख डङ्गोलले विशेष गरेर क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई वर्क एन्ड स्टडीमा केन्द्रीकृत गर्नका लागि क्याम्पसका प्राध्यापकको टिमबाट अध्ययन गर्ने कार्य भइरहेको बताए । निकट भविष्यमा नै विभिन्न दातृ निकाय तथा सङ्घ-संस्थाको सहकार्यका विद्यार्थीलाई रोजगारीको सिर्जनाका साथै दिगो आर्थिक विकासमा लगाई कामका लागि बिदेसिने वातावरणको अन्त्य गर्ने लक्ष्य रहेको बताए । क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम श्रेष्ठका अनुसार हाल छनोट भएको परियोजनालाई सफल बनाई क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सबै पक्षलाई समेटेर उच्च शिक्षाको हबको रूपमा विकास गर्ने लक्ष्य रहेको बताए । प्रिभिजिटको सुझावलाई कार्यान्वयनसमेत गरिसकेकाले निकट भविष्यमा नै अन्तिम भिजिट सम्पन्न गरी क्युएए प्रमाणीकरण गर्ने लक्ष्य रहेको बताए ।

नेपालको संविधान, २०७२ ले देशभरमा तीन तहको सरकार र शिक्षाका अधिकार सुनिश्चित गर्न तीनै तहमा शैक्षिक अधिकारसमेत प्रत्यायोजन गरेको छ । यसरी हेर्दा नुवाकोट आदर्श बहुमुखी क्याम्पस भौगोलिक, राजनीतक तथा जनघनत्वको हिसाबले पनि बागमती प्रदेशको प्रादेशिक विश्वविद्यालयको रूपमा छलाङ मार्न जरुरी छ । क्याम्पसको भौतिक संरचनालाई भरपूर उपयोगमा ल्याई तीन तहको सरकारसँग उचित सम्मन्वय गर्न सकेको खण्डमा प्रादेशिक विश्वविद्यालयको परिकल्पना साकार हुनेछ । क्याम्पसमा मानविकी, शिक्षाशास्त्र र व्यवस्थापन सङ्काय तथा ११, १२ कक्षा, स्नातक, स्नाकोत्तर तहमा गरी करिब एक हजार आठ सय विद्यार्थी अध्ययनरत छन् । करिब सात हजार विद्यार्थीले ग्य्राजुएट हासिल गरी देश तथा विदेशको विभिन्न क्षेत्रमा उच्च ओहोदामा आसिन हुन पुगेका छन् । करिब ५५ जना प्राध्यापक-कर्मचारी कार्यरत छन् । आगामी दिनमा बिएडआई सिटी, बिआइटी, बिसिए, बिएचएम, बिबिएलगायतका नयाँ विषय थप गर्ने योजना रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह