पीपलटार, नुवाकोट उद्योग वाणिज्य सङ्घको आयोजनामा माघ २७ गते शुक्रबारदेखि सुरु भएको महोत्सव हिजो फागुन १० गते बुधबार सम्पन्न भएको छ । ०६३ देखि सुरु भएको महोत्सवको यो सातौँ संस्करण भव्यताका साथ हिजो सम्पन्न भएको छ । महोत्सव विदुर नगरपालिका-५ पीपलटारमा भएको हो ।
सातौँ नुवाकोट महोत्सव १३ दिनसम्म सञ्चालन भएको थियो । महोत्सवको उद्घाटन नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले र समापन नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य, पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले गरेका थिए । ०४५ सालमा स्थापना भएको सङ्घले ०६३ मा पहिलो महोत्सव गरेको थियो । यसपटकको महोत्सवस्थल अहिलेसम्मकै ठूलो रहेकाले पार्किङ, दर्शकदीर्घा, स्टल क्षेत्र फराकिलो हुँदा अवलोकनकर्ताले सहज महसस गरेका थिए । महोत्सवस्थलमा ६० हजारभन्दा बढी दर्शक एकैपटक प्रवेश गर्न सक्ने र अट्न सक्ने व्यवस्थापन गरिएको सङ्घका अध्यक्ष एवम् महोत्सव सञ्चालन मूल समितिका संयोजक ताराबहादुर कार्कीले बताए । महोत्सव डेढ लाखभन्दा बढीले अवलोकन गरेको सङ्घले जानकारी दिएको छ । यसपटक महोत्सको नारा ‘धार्मिक ऐतिहासिक कला संस्कृतिको संवद्र्धन, दिगो आर्थिक विकासका लागि व्यावसायिक प्रवद्र्धन’ राखिएको थियो । अध्यक्ष कार्कीले बताएअनुसार महोत्सवमा स्थानीय उत्पादनका स्टललाई निःशुल्क र जिल्लाका व्यवसायीले राख्ने स्टललाई २० प्रतिशत छुटको व्यवस्था गरिएकाले जिल्लाको ४० भन्दा बढी व्यवसायीले स्टल राखेका थिए । जिल्लाको समग्र विकासका सम्भावनालाई उजागर गर्दा परम्परागत कला र संस्कृतिको जगेर्ना, व्यावसायिक कृषि, जलविद्युत्, पर्यटन, हस्तकला एवम् व्यापार व्यवसायलाई प्रवद्र्धन गरी जिल्लामा आर्थिक तथा लगानीमैत्री वातावरणको सिर्जना तथा बाह्य लगानीलाई आकर्षण गर्न महोत्सव केन्द्रित रहेको सङ्घका द्वितीय उपाध्यक्ष सन्तोष उप्रेतीले बताए ।
महोत्सवमा प्रवेश टिकट प्रतिव्यक्ति सय रुपैयाँ, विद्यार्थीलाई परिचयपत्रको आधारमा ६० र ज्येष्ठ नागरिक, अपाङ्गता भएका र अशक्तलाई सरकारले जारी गरेको परिचयपत्रको आधारमा निःशुल्क गरिएको सङ्घको प्रथम उपाध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए । जिल्लामै उत्पादित घरेलु सामग्रीदेखि लघु उद्यमीले उत्पादन गरेका सामग्री यसपटकको महोत्सवमा बिक्री र प्रदर्शनीका लागि राखिएकाले ती स्टल अवलोकनकर्ताले विशेष चासो र ध्यान खिचेको वरिष्ठ उपाध्यक्ष गीता अमात्यले बताइन् । महोत्सवको हिसाब चैत महिनाभित्र सार्वजनिक गरेर वैशाखको पहिलो हप्ता सङ्घको अधिवेशन गर्ने कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठले त्रिशूली प्रवाह साप्ताहिकलाई जानकारी दिए । जिल्ला समन्वय समिति नुवाकोटसहित जिल्लाका १२ वटै स्थानीय तह नुवाकोट महोत्सवको सहआयोजक रहेको यो महोत्सवको व्यवस्थापन नारायणी फेयर एक्जिबिसन नेपालको र नेपाल उद्योग वाणिज्य महासङ्घ तथा नेपाल पर्यटन बोर्ड प्रवद्र्धक रहेका थिए ।
महोत्सवमा नेपाली काङ्ग्रेसका प्रवक्ता एवम् पूर्वमन्त्री डा. प्रकाशशरण महत, नेकपा एमालेका प्रदेश कमिटीका सदस्य एवम् प्रतिनिधिसभाका निवर्तमान सांसद नारायणप्रसाद खतिवडा, संविधानसभाका सदस्यहरू राज्यलक्ष्मी श्रेष्ठ पाण्डे, गोविन्द नेपाली, जगदीश्वरनरसिंह केसी, बागमती प्रदेश सभाका सदस्य एवम् नेपाली काङ्ग्रेस नुवाकोटका सभापति रमेशकुमार महत, बागमती प्रदेशका पूर्वप्रदेश सभा सदस्यद्वय बद्री मैनाली र हिरानाथ खतिवडा, पूर्वअर्थमन्त्री एवम् नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महत, प्रदेश सभाका सदस्य एवम् निवर्तमान उपसभामुख राधिका तामाङ, नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य एवम् नेपाली काङ्ग्रेस बागमती प्रदेश सभा संसदीय दलका नेता बहादुरसिंह तामाङ, प्रदेश सभा सदस्य रामप्रसाद ढुङ्गानालगायतले महोत्सवको अवलोकनसहित फरक-फरक दिनको आतिथ्यता ग्रहणसमेत गरेका थिए । जिल्लामा यसअघि सम्पन्न भएका ६ वटा महोत्सवभन्दा बढी दर्शकले अवलोकन गरेको यो महोत्सवमा जिल्लाका सबै तह र तप्काका महानुभावको साथ र सहयोग रहेको महासचिव कृष्णप्रसाद अधिकारीले बताए ।
प्रतिक्रिया