धुन्चे, रसुवा जिल्लामा ७३औँ राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइयो ।
जिल्ला प्रशासन कार्यालय रसुवाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) प्रकाशचन्द्र अधिकारीको अध्यक्षतामा बसेको बैठकले पाँचवटै गाउँपालिकामा फागुन ६, ७ र ८ गते कार्यक्रम गर्न र जिल्लास्थित सरकारी कार्यालय एवम् सङ्घ-संस्था शैक्षिक प्रतिष्ठान तथा निकायमा राष्ट्रिय झण्डा फहराई सरसफाइ र दीप प्रज्ज्वलन गरी मनाउने निर्णय गरेको छ । उक्त निर्णयअनुसार लाङटाङ राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयको संयुक्त आयोजनामा वृक्षारोपण गरिएको थियो । जिल्लामा रहेका सुरक्षा निकायले धुन्चेस्थित मठ-मन्दिर, गुम्बालगायत धार्मिकस्थलमा सरसफाइ गरेका थिए । वृक्षारोपण कार्यक्रममा प्रजिअ अधिकारी, नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङ, जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) सुवास बुढाथोकी, नेपाली सेना विष्णुदल गणका निमित्त गणपति, सशस्त्र प्रहरी २० नम्बर गुल्मका गुल्मपति, लाङटाङ राष्ट्रिय निकुञ्जका वार्डेन प्रमोद भट्टराई वन कार्यालयका प्रतिनिधि, स्वास्थ्यकर्मीलगायतको सहभागिता रहेको थियो ।
२००७ सालको फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । फागुन ७ गतेकै जगमा टेकेर ०४६ सालको चैत २६ गते प्रजातन्त्र पुनस्र्थापना भएको थियो । यसैको जगमा ०६३ सालको वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो । यसै पृष्ठभूमिमा ०६५ सालको जेठ १५ गते पहिलो संविधानसभाले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देशको रूपमा स्थापित गरेको छ ।
प्रतिक्रिया