आरोप-प्रत्यारोपको राजनीति !

  • त्रिशूली प्रवाह
  • ११ फाल्गुन २०७९, बिहीबार ११:५८

हाम्रा देशका दलहरूको प्राथमिकता गठबन्धन जुटाउने, फुटाउने, टुटाउनेमै रहेको छ । निर्वाचनपछि नयाँ सरकार नयाँ गठबन्धनअनुसार बनेको पनि केही महिना भइसक्यो । राजनीतिमा सम्भावनाहरू अनेकौँ हुँदारहेछन् भनेर वर्तमान राजनीतिक परिदृश्यले देखाएको छ । एकातिरको गठबन्धन टुट्नासाथ अर्कातिर गठबन्धनमा जुट्ने क्रम छ । राजनीतिमा दोहोरो चरित्र स्वाभाविक मानिनेरहेछ । केही दिन पहिले होइन त्यही दिनको एक/दुई घण्टा पहिले बोलेको कुरा दुई-तीन घण्टापछि अमान्य बन्दारहेछन् । यो राजनीतिको चरित्रै हो भन्ने हाम्रा नेताहरूको बानी, व्यवहार, प्रवृत्ति र अस्थिर चरित्रबाट पुष्टि हुँदै आएको छ । केही घण्टाअघिका घनिष्ट मित्रहरू केही घण्टापछि नै शत्रु बन्दारहेछन् ।

तत्कालीन सत्तागठबन्धनमा रहेको दलहरूबीच शक्ति बाँडफाँटका विषयमा कुरा नमिल्दा समीकरण अर्कै प्रकारले विकसित हुन पुगेको छ । निर्वाचनपछि सङ्घ र प्रदेशमा नयाँ सरकार तथा समीकरणअनुसार बनिसकेको छ । फागुन २५ गते हुन लागेको राष्ट्रपति निर्वाचनले दलहरू र तिनका नेता तरङ्गित बनिरहेका छन् । नयाँ गठबन्धन बनाउने संस्कार संस्थागत भइरहेको छ । राष्ट्रपति चुनावकै कारण राजनीति ध्रुवीकरण तीव्र बन्न थालेको छ । राष्ट्रपतिको विषयमा दलहरूबीच तीव्र व्यवहार जारी छ । हालको अवस्थामा नेपाली जनता पनि यस्तो राजनीतिक परिस्थितिको विश्लेषण गर्न सक्ने भइसकेका छन् । सधैँ शक्तिमै रहिरहनुपर्ने, शक्तिका वरिपरि आफ्ना मानिसलाई घुमाइरहनुपर्ने र शक्तिबाहिर रहँदा छटपटी हुने प्रवृत्ति दलका नेतामा रहिरहेको छ । उनीहरूकै कारण पुरानो गठबन्धन भत्किन र नयाँ गठबन्धन बन्ने क्रम विकास भएको हो । यसले गर्दा वर्तमान राजनीतिले एकाएक एउटा यस्तो फड्को मार्न पुग्यो कि त्यसले अधिकारमा रहेकालाई अधिकारविहीन बनायो र अधिकारविहीनलाई अधिकारमा वा सत्तामा पु¥यायो । यो राम्रो भयो वा नराम्रो भयो भन्ने प्रश्न होइन, कसैका लागि यो कदम निश्चय राम्रो भएको छ भने कसैका लागि नराम्रो भएको छ । अधिकारमा आएकालाई राम्रो भएको छ भने अधिकारबाट वञ्चित हुनुपरेकालाई निश्चय नराम्रो भएकै छ ।

कुरा नयाँ कदमबाट कुन पार्टी र कुन-कुन व्यक्तिलाई फाइदा पुगेको छ भन्ने होइन, राष्ट्रलाई फाइदा पुग्छ कि पुग्दैन भन्ने हो । वर्तमान सरकार र पहिलेको सरकारमध्ये कुन सरकारले देशका लागि धेरै काम गर्न सक्छ भन्ने हो । जुन सरकारले पनि म अरूभन्दा राम्रो काम गर्न आएको हुँ, म राम्रा काम गर्दै छु भन्छन्, तर त्यसको मूल्याङ्कन जनताले गर्ने हो र गर्नुपर्दछ । व्यवस्था परिवर्तनमा जीवन समर्पण गरेका दल र दलका नेताहरूले आफूले पाउँदा प्रजातान्त्रिक बाटोमा देश हिँडेको देख्नुहुन्छ भने आफू सत्ताबाहिर हुनासाथ प्रतिगमन भएको ठान्नुहुन्छ । त्यस्तो दृष्टिकोणबाट नेताहरू अलग्गै बस्न सक्ने हो भने मात्र उनीहरूको पनि सामाजिक प्रतिष्ठा चुलिन सक्छ अनि देशको विकासमा टेवा पुग्न जान्छ । केवल पार्टीको वा व्यक्तिको स्वार्थलाई मात्र केन्द्रविन्दुमा राखेर राजनीति गर्नेहरूका लागि जनताका समस्याले महत्व पाउँदैन । राजनीति गर्ने भनेकै वास्तवमा जनताका समस्या समाधान गर्ने हो, तर यस कुरालाई नबुझेर वा बुझेर, बुझ पचाएर राजनीति गर्नाले जनताको अवस्था जहाँको त्यहीँ रहन्छ, नेपालको अवस्था यस्तै छ । नेताहरूको जीवनस्तर भने फेरिँदै जान्छ । नेतामा सकारात्मक सोच र जनतामा नेतालाई खबरदारी गर्न सक्ने सामथ्र्य नभएसम्म लोकतान्त्रिक व्यवस्था संस्थागत हुन सक्दैन ।