जिल्ला भूमि अधिकार मञ्च, रसुवाले विगत दुई दशकमा गरेको विभिन्न भूमि अधिकार आन्दोलन, यसका सङ्घर्षपूर्ण क्षण, मुख्य उपलब्धि, सिकाइ र मूल मुद्दा समेटी ‘वृत्तान्त बिर्ता’ पुस्तक प्रकाशन गरेको छ । लेखक रघुनाथ लामिछाने, विश्वास नेपाली र सुष्मा न्यौपानेद्वारा लेखन एवम् सम्पादन गरिएको ‘वृत्तान्त बिर्ता’ सामुदायिक आत्मनिर्भर सेवा केन्द्रको सहयोगमा प्रकाशित भएको छ ।
यो पुस्तक ज्ञानबद्र्धक छ । पुस्तकमा भूमि अधिकार अभियानमा सङ्गठित अगुवा, अभियानकर्ता र सदस्यहरूको सङ्घर्ष र अनुभव समेटिएको छ । रसुवा जिल्लामा अझै पनि ‘बिर्ता’ समस्या जटिल छ । ‘गुठी’ समस्याले पनि हाकुवासी ग्रामीण किसानलाई पिरोलिराखेको छ । भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या पनि बाँकी नै छ । विस्थापित परिवारको मुद्दा २०७२ सालमा नेपालमा गएको भूकम्पपछि थपिएको समस्या हो । हालसम्म पनि विस्थापितको सुरक्षित पुनस्र्थापना हुन नसक्नुको कारण भनेको सुरक्षित भूमि उपलब्ध हुन नसक्नु हो । यी विषयलाई पुस्तकमा अभिलेखित गरिएको छ । यो पुस्तक रसुवा जिल्लामा भूमि अधिकार मञ्च विसं.२०६२ मा स्थापना भएदेखियता विसं २०८१ सम्म भएका मुख्यमुख्य सङ्घर्ष र आन्दोलनबारे बेलिविस्तारमा चर्चा गरिएको छ । भूमि अधिकार मञ्चले आन्दोलन सुरुवात गरेदेखियता भएका उपलब्धिलाई पनि अभिलेखीकरण गरिएको छ । खासगरी बिर्ता जग्गा जोतभोग गर्ने किसानले पाएको जमिनको स्वामित्व (लालपुर्जा), गुठीपीडित किसानले प्राप्त गरेको मोही अधिकार, महिला किसानले प्राप्त गरेको संयुक्त जग्गाधनीपुर्जा, भूकम्पपछि समुदायलाई गरिएको सहयोग र भूकम्पपीडित विस्थापित एवम् भूमिहीन परिवारलाई पुनर्वास र पुस्र्थापनामा गरिएको सहयोग विषय भूमि अधिकार अभियान सुरुवात भएपछि भएका उपलब्धि हुन्, जुन विषय पुस्तकमा उल्लेख गरिएको छ ।
आन्दोलन सुरु भएपछि यसबिचमा केही गर्वलायक उपलब्धि प्राप्त भएका छन् । बिर्ता जग्गा जोतभोग गर्ने एक सय ६८ परिवारको जग्गाधनी प्रमाणपुर्र्जा बन्यो । बाँकी रहेको बिर्ता जग्गाको दर्ता प्रक्रियाका लागि निरन्तर अभियान भइरहेको छ । गुठीपीडित किसानको मोही हक सुरक्षित भयो, एक सय ३२ वटा मोही पुर्जा तयार भयो । गुठीको महँगो कुत आधा छुट भयो । भूकम्पका कारण विस्थापित एक हजारभन्दा बढी परिवारको पुनर्वासमा मद्दत पुग्यो । सदस्य परिवारलाई जीविकोपार्जनलगायत कार्यमा मद्दत गरी पुनस्र्थापन भयो । संयुक्त जग्गाधनी प्रमाणपुर्र्जा अभियानले महिला किसानको पनि पहिचान, आत्मसम्मान र भूमि एवम् सम्पत्तिमा पहुँच बढ्दै गएको छ ।
लामो समयदेखि जारी भूमिमा महिला अधिकार र संयुक्त पुर्जासम्बन्धी छलफल तथा घरदैलो अभियानको नतिजास्वरूप पाँच सय ७० घरपरिवारले संयुक्त पुर्जाबारे ज्ञान लिए । ७४ जोडी किसानले पाँच सय १३ रोपनी तीन आना एक पैसा जग्गाको संयुक्त जग्गाधनी प्रमाणपुर्र्जा बनाए जसको मूल्य करिब रू.६ करोड ५२ लाख १७ हजार पाँच सयबराबर छ । यसले एकातर्फ भूमिमा महिलाको अधिकार स्थापित गर्न सघाएको छ भने अर्कातिर महिलाको आत्मसम्मान वृद्धि भएको छ र घरायसी निर्णय प्रक्रियामा पहुँच बढेको छ । जिल्लामा भूमि अधिकार आन्दोलन सुरु भएको झन्डै दुई दशक पुग्न लाग्यो । यसबिचमा धेरै अगुवा, अभियानकर्मी एवम् सदस्यहरू अभियानमा जोडिए र योगदान गरेका छन् । उनीहरूको योगदानलाई पनि पुस्तकमा समेटिएको छ । साथै, मञ्चको मुख्य सिकाइ र यसबिचमा भोग्नुपरेको चुनौती एवम् तिता-मिठा क्षण पनि समेटिएका छन् ।




प्रतिक्रिया