+
Search

ताजा अपडेट +

पपुलर +

कार्य सम्पादन मूल्याङ्कनमा रसुवाको उत्तरगया गाउँपालिका उत्कृष्ट

कार्य सम्पादन मूल्याङ्कनमा रसुवाको उत्तरगया गाउँपालिका उत्कृष्ट
त्रिशूली प्रवाह
२ साल अगाडी
  • सरस्वती न्यौपाने

धुन्चे, रसुवा जिल्लाका पाँचवटा गाउँपालिकामध्ये उत्तरगया गाउँपालिका कार्य सम्पादन मूल्याङ्कनमा उत्कृष्ट भएको छ । बजेट विनियोजनदेखि कार्यक्रम कार्यान्वयनसम्मको प्रदर्शनका आधारमा मापन हुने कार्यसम्पादन मूल्याङ्कनमा उत्तरगया गाउँपालिका पहिलो भएको हो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष ०८०/८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्य सम्पादन सूचाङ्कका आधारमा सबै तहका सरकारको कार्यसम्पादन मूल्याङ्कन गर्ने गर्दछ । रसुवा जिल्लाको पाँचवटै पालिकामध्ये उत्तरगया गाउँपालिका उत्कृष्ट भएको हो । उत्तरगयाले कार्य सम्पादन मूल्याङ्कनमा ५९.४४ अङ्क ल्याई पहिलो भएको हो । आयोगले दिएको जानकारीअनुसार रसुवाको कालिका गाउँपालिकाले ५४.६० प्रतिशत अङ्क प्राप्त गरी रसुवा जिल्लाभरिमा दोस्रो भएको छ । गोसाइँकुण्ड गाउँपालिकाले ५३.७२ अङ्क प्राप्त गरी तेस्रो स्थान ल्याएको आमाछोदिङ्मोले ४७ प्रतिशत र नौकुण्ड गाउँपालिकाले ४५ दशमलव ५७ प्रतिशत अङ्क पाएका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अनुसार स्थानीय सरकारले ऐनअनुसार १० असारभित्र सम्बन्धित गाउँ नगरसभामा बजेट पेस गर्नुपर्छ । त्यसो भए-नभएकालाई एक सूचक मानिएको छ । बजेट असार मसान्तभित्र पास गर्नुपर्छ । गरे–नगरेको विषय अर्को सूचक हो ।

स्थानीय तहले घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर, विज्ञापन करबाट उठेको रकम प्रदेश सरकारलाई हस्तान्तरण गरेर-नगरेकालाई समेत सूचक मानिएको छ । आगामी आ.व. ०८०/८१ को आय-व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पठाए वा नपठाएकालाई समेत अर्को मूल्याङ्कनको आधार मानिएको छ । यी कार्यलाई आधार बनाएर पालिकाले कार्य सम्पादन गर्ने गरेको उत्तरगया गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत दीपकप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार विनियोजित बजेट, त्यसको कार्यान्वयन, राजस्व सङ्कलनको लक्ष्य र प्रगतिलाई समेत आयोगले मूल्याङ्कनको आधार बनाउने गरेको छ । लेखापरीक्षण, आवधिक योजना, सामुदायिक विद्यालयमा रहेका विद्यार्थीको सङ्ख्या, गर्भ जाँच गर्ने महिलाको सङ्ख्या, स्वास्थ्य संस्थामा सुत्केरी हुनेको सङ्ख्या, बालबालिकाको सङ्ख्या, पूर्ण खोप लगाएका बालबालिकाको सङ्ख्यासमेतलाई मूल्याङ्कनको आधार बनाएको उनको दाबी रहेको छ । उनले पालिकाका जनप्रतिनिधि, कर्मचारी र सेवाग्राही सबैको संयुक्त प्रयासबाट कार्य सम्पादन उत्कृष्ट बनाउन सकिएको बताए । उनले भने, ‘अन्य सूचकमा पनि अङ्कभारमा धेरै काम गर्ने बाँकी छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह