+
Search

ताजा अपडेट +

पपुलर +

रसुवागढी नाका फेरि पाँच दिन बन्द

रसुवागढी नाका फेरि पाँच दिन बन्द
त्रिशूली प्रवाह
२ साल अगाडी

धुन्चे, चीनले नेपालको उत्तरी नाका खुल्ने र बन्द गर्ने क्रम जारी राखेको छ । भूकम्प, कोभिड, ल्होसार, नयाँ वर्षलगायतका पर्व र प्राकृतिक दैवी विपत्तिलाई कारण बनाउँदै उत्तरी नाका खोल्ने र बन्द गर्ने क्रम जारी छ । निर्वाचनपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेकपा एमालेको प्रस्तावमा प्रधानमन्त्री भएपछि रसुवागढी नाका दुईतर्फ खुला गरेको थियो । उक्त नाका जनवरी १ गतेदेखि खुलेको भए पनि नयाँ वर्षको कारण देखाउँदै चीनले माघ ६ गतेदेखि १५ दिनका लागि नाका बन्द गरेको थियोे । चीनले फेरि सोमबारदेखि ल्होसार भन्दै पाँच दिनका लागि नाका बन्द गरेको जानकारी दिएको रसुवा भन्सार कार्यालयको प्रमुख नारायणप्रसाद भण्डारीले बताए । रसुुवाको केरुङ र हुुम्लाको यारी नाका खुुला भई सामान आयात-निर्यात गत हप्तादेखि हुुन थालेको थियो । अब नियमित रूपमा नाका खुुला भई सामान आयात–निर्यात हुुने विश्वास व्यवसायीले गरिरहेका छन् ।

चिनियाँ नाकामा रसुुवाको केरुङ, सिन्धुुपाल्चोकको कोदारी तातोपानी, मुुस्ताङको कोरला, सङ्खुवासभाको किमाथाङ्का, ताप्लेजुुङको ओलाङचुङगोला र हुुम्लाको यारी छन् । तीमध्ये रसुुवाको केरुङ, तातोपानी कोदारी र हुुम्लाको यारी व्यापारिक नाका हुन् । यद्यपि, भूकम्पयता तातोपानी नाका करिब बन्दजस्तै छ । उद्योग वाणिज्य तथा आपूूर्ति मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले उत्तरी नाका खुुला भई सामान नियमित रूपमा आउन थालेको जानकारी दिए । चीनतर्फका उत्तरी नाका खुुला भई सञ्चालनमा आएकोे उनले स्पष्ट पारे । कोभिडको कारण देखाउँदै करिब तीन वर्ष केरुङ नाकाबाट सामान आयात भए पनि निर्यात हुन सकेको थिएन । गत १२ पुुसदेखि नाका खुला भएको थियो । कोभिडपछि आयात भए पनि निर्यात भने पूर्ण रूपमा बन्द रहेको थियो । रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले केरुङ नाका खुुला भई नियमति रूपमा सामान आउन थालेको जानकारी दिए । ‘नाका खुुला भएपछि दैनिक १० देखि १२ ट्रक सामान आउने गरेको छ,’ उनले भने । सामान्य अवस्थामा दैनिक १४ देखि १५ ट्रक सामान आयात हुने गरेकामा नाका खुलेदेखि दैनिक १० देखि १२ ट्रक मात्र सामान आउने गरेको उनको भनाइ छ । नाकाबाट सामान आयात–निर्यात भए पनि मानिसको आवत-जावत भने अझै खुुला नभएको उनले जानकारी दिए ।

केरुङ नाकाबाट आयातको तुुलनामा निर्यात कम रहेको भण्डारीले जानकारी दिए । पुस १२ देखि रसुुवा नाका खुुला भई स्वदेशी सामान निर्यात हुुन थालेको हो । बीचमा दुुई साता बन्द भएको सो नाकाबाट हालसम्म ११ करोड रुपैयाँबराबरको ८० ट्रक सामान निर्यात भएको रसुुवा भन्सार कार्यालयले जनाएको छ । नेपालबाट बाँसका मुढा, कार्पेट, तामाका सजावटका सामान, नेपाली कागज र मूर्तिलगायतका सामान निर्यात भएको भन्सार कार्यालयले जनाएको छ । नेपालबाट चीनतर्फ निर्यातयोग्य वस्तुका रूपमा अलैँची, अदुवा, चिया, जडीबुटी तथा आयुर्वेदिक औषधि, कपडा र धागो, छालाजुत्ता, च्याङ्ग्रा, पस्मिना, गलैँचा, कफी राखिएको छ । यस्तै, तरकारी तथा तरकारीको बिउ, फलफूल र जुस, मह, चाउचाउ, तयारी पोसाक, पत्थर, गहना, ऊनीका उत्पादन, हस्तकला, मसुरो, जुटका झोला, छुर्पी नेपालबाट चीन निर्यात हुने वस्तु हुन् । चीनबाट तयारी कपडा, स्याउ, रबर, प्लास्टिकका जुत्ता–चप्पल, हातेझोला, छालाका जुत्ता, मोटरको ब्याट्री, युपिएस, प्लास्टिकका सामग्री आयात हुने गरेका छन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका पूर्वअध्यक्ष नरेश कटुुवालले व्यवसायीसँग पैसा नहुुँदा कम मात्र सामान ल्याउने गरेको बताए । बैंकको उच्च ब्याजदरले ऋण र किस्ता तिर्न नसक्ने अवस्थामा रहेकाले पर्याप्त सामान अर्डर गर्न नसकेकाले केरुङ नाकाबाट कम मात्र सामान आउने गरेको उनको भनाइ छ । चीनबाट नेपालमा ठूलो परिमाणमा विभिन्न सामान आयात हुने गरेकामा नेपालबाट न्यून परिमाणमा सामान निर्यात हुने गर्छ । भन्सार विभागका अनुुसार चालू आर्थिक वर्षको ६ महिनामा चीनबाट एक खर्ब नौ अर्ब ७८ करोड सात लाख रुपैयाँ सामान आयात भएको छ । सो अवधिमा ३४ करोड ११ लाख एक हजार रुपैयाँबराबरको सामान निर्यात भएको छ । चीनसँग एक खर्ब नौ अर्ब ६३ करोड ७५ लाख ९९ हजार रुपैयाँ व्यापार घाटा छ । विभागको तथ्याङ्कअनुसार आ.व. ०७८/७९ मा चीनबाट दुई खर्ब ६४ अर्ब ७८ करोड ३७ लाख १३ हजार रुपैयाँको सामान आयात भएकोमा ८० करोड ८७ लाख ५४ हजार रुपैयाँबराबरको सामान निर्यात भएको थियो । चीनले नेपालका आठ हजार वस्तुको निर्यातमा भन्सार छुटको व्यवस्था गरेको छ । स्वदेशी वस्तुको निर्यातमा छुुटको व्यवस्था भए पनि निर्यात भने न्यून मात्र हुने गर्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह