बट्टार, दोस्रो एनयुएफसी अन्तरविद्यालय जिल्लास्तरीय फुटबल प्रतियोगितामा चन्द्रज्योति र च्वाडी मावि विजयी भएका छन् ।
शनिबार भएको फाइनलमा खेलमा छात्रातर्फ जालपादेवी बोर्डिङ स्कुललाई ०-१ गोल अन्तरले हराउँदै चन्द्रज्योति मावि विजयी भएको हो । खेलको २०औँ मिनेटमा चन्द्रज्योतिकी मनीषा तामाङले गरेको गोल नै निर्णायक गोल बन्यो । खेलको म्यान अफ द म्याच तामाङ नै भइन् । छात्रतर्फको विजेता च्वाडी पब्लिक माध्यमिक विद्यालय बन्यो । छात्रतर्फ भएको खेलमा च्वाडी माविले शिलादेवी माविलाई २-१ गोल अन्तरले हराउँदै विजयी भयो । खेलको म्यान अफ द म्याच चन्द्र तामाङ घोषित भए । प्रतियोगितामा छात्रतर्फ प्रथम र द्वितीय हुनेले क्रमशः २५ हजार र १५ हजार रुपैयाँ राशिसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । छात्रातर्फ प्रथम र द्वितीय हुनेले क्रमशः १० हजार र पाँच हजार नगद राशिसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । कार्यक्रमका प्रमुख अतिथि विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले विजयी टिमलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।
नुवाकोट युनाइटेड फुटबल क्लबद्वारा आयोजित प्रतियोगिताभरमा समयावधिभित्र नै टिम दर्तादेखि खेल अवधिमा उत्कृष्ट खेल प्रदर्शन गर्दै भैरवी मावि अनुशासित टिम घोषित भयो । यस्तै, चन्द्रज्योतिकी मनीषा तामाङ र च्वाडी माविका चन्द्र तामाङ उत्कृष्ट खेलाडी भए । सबैभन्दा बढी गोलकर्ता जेडीकी अन्वेयषा गिरी र शिलादेवीका सचिन राई भए । अन्वेयषाले प्रतियोगिताभरमा तीन गोल गरिन् भने सचिनले ६ गोल गरे । शिलादेवीकी विनिता कुमाल र सागर श्रेष्ठ उत्कृष्ट गोलरक्षक घोषित भए । यस्तै, सहभागी टिमबाट रसिका डङ्गोल र सन्तोष घले उदीयमान खेलाडी घोषित भए । देवेन्द्रबहादुर थापा र च्वाडी माविका सबिन डङ्गोल उत्कृष्ट प्रशिक्षक घोषित भए । लिककम नकआउट वा नकआउट प्रणालीअनुसार खेलाइएको प्रतियोगिता विदुर नगरपालिकाको बट्टारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेलमैदानमा खेलाइएको थियो । माघ ६ गतेदेखि १४ गतेसम्म भएको प्रतियोगितामा छात्र र छात्रा गरी १८ टिमले सहभागिता जनाएको क्लबका अध्यक्ष रामकुमार कोइरालाले जानकारी दिए ।






प्रतिक्रिया