- सुनील श्रेष्ठ
विदुर, खेलकुद सामग्री उत्पादन गर्ने चाइनिज कम्पनी लि-निङको पाँचौँ सोरुम नुवाकोटको त्रिशूलीबजारमा गत बिहीबारदेखि सञ्चालनमा आएको छ । खेल र खेलाडीका लागि चाहिने सम्पूर्ण सामग्री पाइने शोरुमको तेक्वान्दोकी ओलम्पियन तथा राष्ट्रिय प्रशिक्षक संगिना वैद्य र कम्पनीका कार्यकारी निर्देशक राजन महर्जनले संयुक्त रूपमा उद्घाटन गरे ।
त्रिशूली शाखाका सञ्चालक अनु इन्टरप्राइजेजका विप्लप अमात्यले बास्केटबल, ब्याडमिन्टन, ज्याम्न्यास्टिक, रनिङलगायतका खेलको सम्पूर्ण सामग्री पाइने बताए । नुवाकोट र रसुवाका खेलाडी आफूले चाहिने सामग्री किन्न अब काठमाडौं धाउनु नपर्ने उनले बताए । ग्राहकले शोरुमबाट माघ २१ गतेसम्ममा २५ प्रतिशत छुटको सुविधा लिन सक्ने उनले जानकारी दिए । कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषद्को तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशकसमेत रहेका वैद्यले नेपालको खेल क्षेत्रमा सहयात्रीको रूपमा रहेको उक्त कम्पनीका सामग्री खेलाडीलाई सहजको साथै सुहाउँदो रहेकी बताइन् । उनले आफ्नै जन्मथलोमै अन्तर्राष्ट्रिय ब्रान्डको शोरुम सञ्चालनमा आउँदा खुसी व्यक्त गरिन् ।
ललितपुर जावलाखेलमा मुख्य कार्यालय रहेको कम्पनीको काठमाडौंलगायत देशका मुख्य-मुख्य सहरमा शोरुम तथा आउटलेट रहेको कम्पनीका निर्देशक महर्जनले जानकारी दिए । लि-निङ चाइना ट्रेड लिङ्कको ब्रान्ड हो । १९८२ मा ज्याम्न्यास्टिकमा विश्वच्याम्पियन बनेका खेलाडीको नामबाट १९९० मा लि-निङ ब्रान्डको स्थापना गरिएको हो ।