सशस्त्र प्रहरी स्थापना दिवस मनाइयो

  • त्रिशूली प्रवाह
  • १९ माघ २०७९, बिहीबार १३:३१

धुन्चे, ०५७ माघ ९ गते अर्धसैनिक सुरक्षा निकायका रूपमा सशस्त्र प्रहरी बल स्थापना भएको २२औँ वर्ष पुगेको छ । सशस्त्र प्रहरी बलको २२औँ स्थापना दिवसको अवसरमा सोमबार ०७० सालदेखि रसुवामा तैनाथ सशस्त्र प्रहरी बल नेपाल २० नम्बर गुल्मले विविध कार्यक्रम सोमबार सम्पन्न गरेको छ ।

विशेषगरी रसुवागढी नाका भएकाले शान्तिसुरक्षाका लागि रसुवामा तैनाथ सशस्त्र प्रहरीले दिवस मनाइरहँदा खेलकुद प्रतियोगिता सम्पन्न गरी उत्कृष्ट प्रहरीलाई पुरस्कार र प्रशंसापत्र वितरण गरिएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी, लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ नेपाली सेनाको नारायणदल गणका गणपति कर्णेल विक्रम थापा, नेपाल प्रहरीका प्रहरी प्रमुख कुलदीप चन्द, राष्ट्रिय अनुसन्धान अधिकृत सविन श्रेष्ठ, नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ, सञ्चारकर्मी र सशस्त्र प्रहरी प्रमुख पंकच चन्दलगायतको सो कार्यक्रममा उपस्थिति रहेको थियो । सशस्त्र प्रहरी बलले जिल्लाको सुरक्षाको साथसाथै सीमा सुरक्षासहित, भन्सार कार्यालयको सुरक्षामा खटिरहेको छ ।