सहिदको सपना र समर्पण

  • त्रिशूली प्रवाह
  • १९ माघ २०७९, बिहीबार १३:४८

हुँदैन बिहान मिर्मिरमा तारा झारेर नगए
बन्दैन मुलुक दुई-चार सपुत मरेर नगए ।’

जबजब सहिदहरू सम्झनामा आउँछन् भूपि शेरचनको यो कालजयी सिर्जनाले उनीहरूको उत्सर्गको अर्थ र औचित्य बोध गराउँछ । अनि राष्ट्र निर्माणको बलिवेदीमा चढेका ती इतिहास निर्माताको बलिदानप्रति गर्व महसुस हुन्छ, सम्मानले शिर निहुरिन्छ । सोमबार माघ १६ गते यस वर्ष पनि सहिद दिवस सरकार र अन्य सङ्घ-संस्थाले विविध कार्यक्रम गरेर मनाएका छन् । यस वर्ष पनि सहिदलाई सम्झने काम भयो । सम्झने पानी छम्कने भन्दा पनि सहिदको सपनालाई पूरा गर्न सके मात्र दिवसको सार्थकता हुनेछ ।

अहिले राजनीतिक दल र सरकारको क्रियाकलाप हेर्दा सहिदले यस्तै कुरूप समाज निर्माण चाहेका थिए त ? आफ्ना जीवन बलिवेदीमा चढाएर कुरूप समाज निर्माण चाहेका थिए त ? आफ्ना जीवन कुरूप समाज सुधार्न आहुती दिएका थिए भन्ने हेक्का राख्न प्रत्येक वर्ष सहिद दिवस मनाइन्छ । प्रजातन्त्रको कुरा जोडिएर आउँदा १९९७ साल देशका चारजना सपुतले प्रजातन्त्र मागेको आरोपमा तत्कालीन राणा शासनले काठमाडौंका विभिन्न स्थानमा गोली हानेर तथा झुन्डाएर हत्या गरेका थिए । त्यसको १० वर्षमा राणाको शासन ढल्यो र प्रजातन्त्रको उदय भएको हो ।

हरेक वर्ष सहिद दिवस मनाइन्छ । सप्ताहव्यापी भनेर सहिदको सालिकमा माल्यार्पण गरिन्छ । सप्ताहपछि अर्को वर्षको सप्ताह कुर्नुबाहेक सहिदको नामोनिसान थाहा हुँदैन । सहिदले देखाएको बाटोको खोजी हुँदैन । हरेक राजनीतिक परिवर्तनमा केहीले ज्यान गुमाएका छन् । त्यो बलिदानी देश र जनताको पक्षमा हो, कुनै व्यक्तिविशेषका लागि उपल्लो पदमा पु¥याउनका लागि होइन, तर यहाँ यस्तै भएको छ । सीमित दलका सीमित व्यक्तिको फाइदा÷बेफाइदासँग परिवर्तनको तुलना भइरहेको छ । अब त ढिला भइसक्यो कि सहिदको स्मरण गर्न ?
नेपाली जनतालाई अधिकारसम्पन्न नागरिक बनाउन राणाशासन, निरङ्कुश पञ्चायती व्यवस्था एवम् त्यसपछिका विभिन्न अधिकार प्राप्तिका आन्दोलन एवम् लोकतान्त्रिक आन्दोलनमा प्राण आहुती गरेका वीर सपुतको योगदान कसैले पनि भुल्नुहुँदैन । जीवन रोज्छौँ कि मृत्यु भनी तत्कालीन राणाशासनले दुईमध्ये एक रोज्न दिएको चुनौतीमध्ये आफ्नो मूल्य, मान्यता देश र जनताको मुक्तिका लागि सहर्ष मृत्यु रोज्ने सहिदको बलिदानीलाई त्यसै खेर फाल्नु सही हो र ? त्यसैले सहिद दिवसलाई औपचारिकतामा मात्रै सीमित गर्नुहुँदैन । निरङ्कुशताको जन्जिरले मातृभूमिमाथि रजाइँ गरिरहेको बेला मुलुक र मुलुकवासीलाई स्वतन्त्रता दिलाउनु आवश्यक थियो । एकतन्त्रीय शासन अन्त्यका लागि प्राणको बाजी थापेर हाम्रा अग्रजले महत्वपूर्ण भूमिका निर्वाह गरेको कसरी भुल्न सकिन्छ ? अहिलेको व्यवस्था त्यसैको प्रतिफल होइन र ?

सहिदले निश्चित लक्ष्य प्राप्तिका लागि ज्यान दिएको हुन्छ । आपसी खिचातानी र निहित स्वार्थले गर्दा सच्चा सहिदले बगाएको रगतको कतै अवमूल्यन त भइरहेको छैन ? शासन सञ्चालन गर्दा सहिदको बलिदानीलाई नभुलौँ । आज देशका सच्चा सहिद को हुन् भनेर खोज्नुपर्ने अवस्था छ । सहिद गेटमा गएर माल्यार्पण गर्दैमा सहिदको सपना पूरा हुँदैन । सहिदले देखाएको बाटोमा हाम्रो राजनीति हिँडेको छ कि छैन, जनताको मुहारमा खुसीको अनुभूति दिलाउन सकियो कि सकिएन भन्ने कुरा महत्वपूर्ण होइन र ? नेताहरूको बोली र व्यवहार भिन्न देखिन्छन् । सहिदले व्यक्तिगत स्वार्थका लागि लडेको हुँदैन । उसले देखेको सपना सारा नेपालीको साझा सपना हो । त्यो सपना पूरा गर्नु हामी सबैको कर्तव्य हो । सरकारले सहिदको सपना पूरा गर्ने दिशामा काम गरोस् । मुलुक र मुलुकवासीको मुहारमा खुसी ल्याओस् । यति ठूलो बलिदानी गरेर आएको व्यक्ति शासनसत्ताको केन्द्रमा हुँदा मुलुकवासीको मुहारमा खुसी नआए कहिले आउँछ ?

नेपाली बृहत् शब्दकोशअनुसार आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्ति सहिद हुन् भनिएको छ । सहिद भन्नेबित्तिकै सर्वप्रथम सबैले दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र गङ्गालाल श्रेष्ठलाई सम्झिन्छन्, तर हाल सहिदको सूचीमा सूचीकृत हुनेको नाम लामै छ । पछिल्लो समय सहिदको नाममा भएको राजनीतिले देश र जनताको नाममा बलिदान दिने सहिदको महत्वलाई समेत फिक्का र हलुका बनाइदिएको छ । मूल्यहीन बनाइदिएको छ र सार्थकताहीन बनाइदिएको छ । प्रत्येक वर्ष माघ १६ मा सहिद दिवस मनाइए पनि राज्यले सहिदको सम्मानमा कमै महत्व दिएको भान हुन्छ । देशमा परिवर्तन ल्याउन अनि भावी पुस्ता र देशको आयाम बदल्नका लागि आफ्नो ज्यान अर्पण गर्ने वास्तविक सहिदको पहिचान र सम्मानमा सम्बन्धित पक्षको चासो पुगेको देखिँदैन ।