२५ वर्षको प्रयासपछि जेकेले नागरिकता पाए

  • त्रिशूली प्रवाह
  • २६ माघ २०७९, बिहीबार ११:०६

विदुर, नुवाकोटमा जन्मिएका जोनी जेकेले २५ वर्षको प्रयासपछि बल्ल ४२ वर्षको उमेरमा गत महिना नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् ।

नुवाकोटको विदुर नगरपालिका-५ गँगटे स्थायी घर भएका जोनीले गत महिना जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अंगीकृत नागरिकताको प्रमाणपत्र लिएका हुन् । जोनीको जन्म नुवाकोटमै भएको हो भने उनकी आमा पनि नेपाली नै हुन् । जोनीले अंगीकृत नागरिकता प्राप्त गरेसँग छोरा र छोरीका लागि पनि नागरिकता लिने बाटो खुलेको छ । उमेर ४२ वर्षको भइसकेका जोनीले २५ वर्षदेखि नागरिकताको प्रक्रिया सुरु गरेर पनि प्राप्त गर्न सकेका थिएनन् । उनले नागरिकताको प्रमाणपत्र प्राप्त नहुँदा थुप्रै तनाव व्यहोर्नुपरेको थियो । त्यसभन्दा ठूलो तनाव त जोनीले नागरिकता प्राप्त गर्न विभिन्न निकायमा धाउँदा पाएका थिए । उनले आफूले नागरिकता माग गरेको २५ वर्षपछि नागरिकताको प्रमाणपत्र प्राप्त गर्दा खुसी व्यक्त गरे । नेपाली आमाको कोखबाट जन्मेर नेपालमै कर्मभूमि बनाएका जेकेको अनागरिक हुनुको पीडा अन्त्य भएको छ ।