पीपलटार, सातौँ नुवाकोट महोत्सव भोलि शुक्रबारदेखि विदुर नगरपालिका– ५ पीपलटारमा हुने भएको छ । महोत्सवको उद्घाटन नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य, पूर्वमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य अर्जुननरसिंह केसीले शुक्रबार दिउँसो गर्ने कार्यक्रम रहेको छ ।
नुवाकोट उद्योग वाणिज्य सङ्घको आयोजना र नारायणी फेयर एक्जिबिसन नेपालको व्यवस्थापनमा हुन लागेको महोत्सवको तयारी पूरा भइसकेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल पर्यटन बोर्ड प्रवद्र्धक रहेको महोत्सव भोलि शुक्रबारदेखि फागुन १० गतेसम्म सञ्चालन हुनेछ । जिल्ला समन्वय समिति, विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, ककनी, तारकेश्वर म्यागङ, किस्पाङ, सूर्यगढी, दुप्चेश्वर, पञ्चकन्या, शिवपुरी, तादी, लिखु गाउँपालिकाको सहआयोजक रहेको महोत्सवमा तीन सय स्टल रहनेछन् । महोत्सवमा स्थानीय उत्पादनका स्टललाई निःशुल्क र जिल्लाका व्यवसायीले राख्ने स्टललाई २० प्रतिशत छुटको व्यवस्था गरिएको महोत्सव मूल समारोह समितिका संयोजक एवम् नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले जानकारी दिए ।
महोत्सवमा प्रवेश टिकट प्रतिव्यक्ति एक सय, विद्यार्थीलाई परिचयपत्रको आधारमा ६०, कलेज तथा विद्यालयको समूहलाई प्रतिविद्यार्थी ५० रुपैयाँ र ज्येष्ठ नागरिक, अपाङ्ग–अशक्तलाई सरकारले जारी गरेको परिचयपत्रको आधारमा निःशुल्क गरिएको संयोजक कार्कीले बताए । महोत्सवमा आवात–जावत गर्न स्थानीय क्षेत्रमा सञ्चालन हुने सार्वजनिक यातायातका साधनलाई सबै क्षेत्रबाट पीपलटार दैनिक आउन–जान यातायात व्यवसायीसँग महोत्सव मूल समारोह समितिले छलफल गरेर व्यवस्था गरेको छ । महोत्सवमा पानीलगायत अन्य पेय तथा खाद्य पदार्थको मूल्यसूची टाँस गर्नुपर्ने व्यवस्था गरिएको छ । विगतमा एक बोतल मिनरल वाटरको ३०–४० रुपैयाँसम्म स्टलबाट बिक्री गरेकाले यसपटक २० रुपैयाँभन्दा बढी लिए कारबाही गर्ने तयारी उद्योग वाणिज्य सङ्घले गरेको छ । ०४५ सालमा स्थापना भएको सङ्घले ०६३ मा पहिलो महोत्सव गरेको थियो । यसपटकको महोत्सवस्थल अहिलेसम्मकै ठूलो रहेकाले पार्किङ, दर्शकदीर्घा, स्टल क्षेत्र फराकिलो रहेको छ ।
महोत्सवस्थलमा ६० हजारभन्दा बढी दर्शक एकैपटक प्रवेश गर्न सक्ने र अट्न सक्ने व्यवस्थापन गरिएको छ । महोत्सवले गर्दा पीपलटार क्षेत्रमा मानिसको भिडभाड एक हप्तादेखि हुन थालेको विदुर नगरपालिका– ५ का अध्यक्ष लीलानाथ न्यौपानेले बताए । स्थानीय आयोजकसमेत रहेको ५ नम्बर वडा कार्यालय स्थानीय व्यवस्थापन र स्थानीयसँग समन्वय गरेर महोत्सव सफल बनाउन सक्रिय रहेको छ । महोत्सव अवधि १३ दिन रहेकाले प्रत्येक दिन जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश र सङ्घका सांसद, पूर्वमन्त्री, दलका केन्द्रीय नेता र जिल्लाका नेतालाई दैनिक उपस्थिति गराउने गरी सङ्घले व्यवस्थापन गरेको छ । महोत्सवको सबै दिनलाई सङ्घले उत्तिकै महत्व दिएर कार्यक्रम र प्रमुख अतिथिको व्यवस्था गरेको सङ्घका कोषाध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया