Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोट महोत्सव जारी

नुवाकोट महोत्सव जारी
त्रिशूली प्रवाह
३ साल अगाडी

पीपलटार, नुवाकोट उद्योग वाणिज्य सङ्घको आयोजनामा माघ २७ गते शुक्रबारदेखि सुरु भएको महोत्सव जारी रहेको छ । महोत्सव फागुन १० गतेसम्म सञ्चालन हुनेछ । ०६३ देखि सुरु भएको महोत्सवको यो सातौँ संस्करण हो । महोत्सव विदुर नगरपािलका-५ पीपलटारमा जारी रहेको छ ।

शुक्रबारबाट सुरु भएको सातौँ नुवाकोट महोत्सव १३ दिन (फागुन १० गते) सम्म जारी रहनेछ । यसपटक महोत्सवको नारा ‘धार्मिक ऐतिहासिक कला संस्कृतिको संवद्र्धन, दिगो आर्थिक विकासका लागि व्यावसायिक प्रवद्र्धन’ राखिएको छ । नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले महोत्सवमा स्थानीय उत्पादनका स्टललाई निःशुल्क र जिल्लाका व्यवसायीले राख्ने स्टललाई २० प्रतिशत छुटको व्यवस्था गरिएको बताए । जिल्लाको समग्र विकासका सम्भावनालाई उजागर गर्दा परम्परागत कला र संस्कृतिको जगेर्ना व्यावसायिक कृषि, जलविद्युत्, पर्यटन, हस्तकला एवम् व्यापार-व्यवसायलाई प्रवद्र्धन गरी जिल्लामा आर्थिक तथा लगानीमैत्री वातावरणको सिर्जना तथा ब्राह्य लगानीलाई आकर्षण गर्ने महोत्सवको आयोजना गरेको सङ्घका महासचिव कृष्णप्रसाद अधिकारीले बताए ।

महोत्सवमा प्रवेश टिकट प्रतिव्यक्ति एक सय रुपैयाँ, विद्यार्थीलाई परिचयपत्रको आधारमा ६० र ज्येष्ठ नागरिक, अपाङ्गता भएका र अशक्तलाई सरकारले जारी गरेको परिचयपत्रको आधारमा निःशुल्क गरिएको सङ्घको द्वितीय उपाध्यक्ष सन्तोष उप्रेतीले जानकारी दिए । जिल्लामै उत्पादित घरेलु सामग्रीदेखि लघु उद्यमीले उत्पादन गरेका सामग्रीलाई प्राथमिकतामा राखिएको उनले बताए । महोत्सवबाट पाँच करोड रुपैयाँको कारोबार हुने सङ्घका कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठले जानकारी दिए । जिल्ला समन्वय समिति नुवाकोटसहित जिल्लाका १२ वटै स्थानीय तह नुवाकोट महोत्सवको सहआयोजक रहेको छ । महोत्सव नारायणी फेयर एक्जिबिसन नेपालको व्यवस्थापनमा नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल पर्यटन बोर्ड प्रवद्र्धक छन् ।

०४५ सालमा स्थापना भएको सङ्घले ०६३ मा पहिलो महोत्सव गरेको थियो । यसपटकको महोत्सवस्थल अहिलेसम्मकै ठूलो रहेकाले पार्किङ, दर्शकदीर्घा, स्टल क्षेत्र फराकिलो रहेको छ । महोत्सवस्थलमा ६० हजारभन्दा बढी दर्शक एकैपटक प्रवेश गर्न सक्ने र अट्न सक्ने व्यवस्थापन गरिएको छ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले उद्घाटन गरेको महोत्सवमा नेपाली काङ्ग्रेसका प्रवक्ता एवम् पूर्वमन्त्री डा. प्रकाशशरण महत, नेकपा एमालेका प्रदेश कमिटीका सदस्य एवम् प्रतिनिधिसभाका निवर्तमान सांसद नारायणप्रसाद खतिवडा, संविधानसभाका सदस्यहरू राज्यलक्ष्मी श्रेष्ठ पाण्डे, गोविन्द नेपाली, जगदीश्वरनरसिंह केसी, बागमती प्रदेश सभाका सदस्य एवम् नेपाली काङ्ग्रेसका नुवाकोटका सभापति रमेशकुमार महत, बागमती प्रदेशका पूर्वप्रदेश सभा सदस्यद्वय बद्री मैनाली र हिरानाथ खतिवडालगायतले महोत्सवको अवलोकन गरिसकेका छन् ।

महोत्सवमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद, पूर्वअर्थमन्त्री डा. रामशरण महत, पूर्वप्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री हितबहादुर तामाङ, बागमती प्रदेश सभाका सदस्य एवम् निवर्तमान उपसभामुख राधिका तामाङ, नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य एवम् नेपाली काङ्ग्रेस बागमती प्रदेश सभा संसदीय दलका नेता बहादुरसिंह तामाङलगायतले महोत्सवको अवलोकन एवम् फरक–फरक दिनको आतिथ्यता ग्रहण गर्ने कार्यक्रम रहेको छ । महोत्सवमा ३० हजारभन्दा बढीले अवलोकन गरिसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह