- सुनील श्रेष्ठ
त्रिशूली, सुजिम बजारले त्रिशूलीमा आफ्नो पहिलो शाखा सञ्चालनमा ल्याएको छ । शनिबार एक कार्यक्रमबीच विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले उक्त बजारको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा सुजिम बजारका प्रबन्धक सुजिम श्रेष्ठले उपभोक्ताको जीवनशैलीलाई ध्यानमा दिएर आधुनिक प्रविधिसहितको सामग्री किनमेल गर्ने विकासका लागि शाखा विस्तार गरेको बताए । निकट भविष्यमा जिल्लाका मुख्यबजार बट्टार र बेत्रावतीमा समेत शाखा विस्तार गर्ने लक्ष्य रहेकोसमेत उनले जानकारी दिए । ‘स्थानीय तथा स्वदेशी उत्पादन सामग्रीलाई प्राथमिकतामा राखेका छौँ । विदुर नगरपालिका-९ कोलनीमा पहिलो शाखा गत वर्ष सञ्चालनमा ल्याएको सुजिम बजार त्रिशूलीमा शनिबारदेखि सञ्चालनमा आएको दोस्रो शाखा हो, यसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न ब्रान्डका चार हजारभन्दा बढी प्रकारका सामान सुजिममा रहेका छन्,’ सञ्चालक सुवर्णमान श्रेष्ठले भने ।
नुवाकोट, रसुवा र धादिङका उपभोक्तालाई व्यावसायिकमार्फत उपभोग्य सामान उपलब्ध गराउँदै आइरहेका जिल्लाकै प्रतिष्ठित व्यापारी शुक्रमान श्रेष्ठका तीन छोराको नाम सुवर्ण, जितेन्द्र र महेन्द्रको पहिलो अक्षरबाट सुजिम नाम राखेको सुजिम बजारका कार्यकारी निर्देशक जितेन्द्र श्रेष्ठले जानकारी दिए । बजारको आकर्षक ठाउँमा रहेको भुइँतल्लादेखि चौथो तल्लासम्म बालबालिका, महिला र पुरुषका लागि आवश्यक खाद्य, पिय पदार्थ, शृङ्गारलगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका दैनिक उपभोग्य सामग्री राखिएको छ । शुभारम्भको अवसरमा निश्चित सामानमा १० देखि २० प्रतिशतसम्मको छुटको व्यवस्था केही दिनका लागि गरिएको छ ।
सुजिममा नगदसहित फोन पे, क्युआर र क्रेडिट तथा डेबिट कार्डद्वारा बिल भुक्तानी गर्न सकिने सुविधा रहेको छ । उद्घाटनको दिन संविधानसभा सदस्य राज्यलक्ष्मी पाण्डे श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी किरण थापा, जबरजंग गणका गणपति अरुण कार्की, राष्ट्रिय अनुसन्धानका एसपी कमल थापा, जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक रूपक खड्का, नुवाकोट उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष शरण उत्सुक सापकोटालगायत उद्योगी, व्यवसायी, उपभोक्ताको उपस्थिति रहेको थियो ।






प्रतिक्रिया