देवीघाट, नुवाकोट जिल्लाको देवीघाटमा रहेको सहिद जगतप्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालयमा निर्माण गरिएको नयाँ भवनको गत हप्ता उद्घाटन भएको छ । प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले उक्त नवनिर्मित भवनको गत हप्ता उद्घाटन गरेका हुन् ।
करिब आठ वर्षअघि गएको विनाशकारी भूकम्पले क्षति पु¥याएको स्थानमा निर्माण गरिएको नयाँ भवनसहित विद्यालयका लागि प्राप्त थप निर्माण गरिएको भवनको गत बिहीबार एकै साथ पूर्वमन्त्री अर्जुननरसिंह केसी र भवन निर्माण गर्ने दातृ निकाय जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को प्रमुख प्रतिनिधि अकिमित्सु ओकुबोले संयुक्त रूपमा गरेका थिए । उद्घाटनपछि प्रमुख अतिथिद्वयले विद्यालय भवनको साँचो व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर डङ्गोललाई हस्तान्तरण गरेका थिए । पुनर्निर्माणसहित नवनिर्माण गरिएको नयाँ भवनको उद्घाटन गर्दै काङ्ग्रेसका नेता केसीले शिक्षा र स्वास्थ्यका लागि राज्यले निःशुल्क नगरेसम्म मुलुकलाई समृद्धि बनाउन नसक्ने बताए । आमनागरिकलाई शिक्षाको प्रवाह र निरोगी बनाउन सकेमा आर्थिक रूपमा समृद्धि ल्याउन सकिने भन्दै उनले जापानी सहयोग नियोगको सहयोगमा निर्माण गरिएका नयाँ भवनमा बसेर अध्ययन-अध्यापन गराउने अवसर पाएसँगै शिक्षामा गुणस्तर वृद्धि हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा जाइकाको सिनियर रिप्रिजेन्टेटिभ थोकोमो थानाकाले विद्यालयमा नयाँ भवनको निर्माणसहित आवश्यक थप सहयोगसमेत नेपाल सरकारसँगको सहकार्यमा उपलब्ध गराउने आश्वासन दिए । भवन हस्तान्तरण कार्यक्रममा सहिद जगतप्रकाशजंग शाहका सुपुत्र त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति नवीनप्रकाशजंग शाह, भूकम्पले क्षति पुगेका विद्यालय पुनर्निर्माणको लागि गठन भएको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा)का कार्यक्रम निर्देशक डिल्लीराम लुइँटेल, नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापा, शिक्षा विकास तथा समन्वय इकाइ नुवाकोटका शाखा अधिकृत तुलबहादुर महतसहित जिल्लास्थित विभिन्न तहका जनप्रतिनिधि, पार्टी प्रतिनिधि, शिक्षा तथा सामाजिक क्षेत्रका सङ्घ–संस्थाका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।
जाइकाको सहयोगमा नयाँ निर्माण तथा पुनर्निर्माण गरेसँगै विद्यालयमा सुविधासम्पन्न भवन, पुस्तकालय, छात्रावासको व्यवस्थापनले अहिले संस्कृति भाषाको अध्यापनलाई प्रमुख प्राथमिकता दिएर अध्यापन गराउँदै आएको विद्यालयका लागि भौतिक संरचना पर्याप्त रहेको प्रधानध्यापक मञ्जु चित्रकारले बताइन् । तर, सीमित सङ्ख्यामा रहेको दरबन्दीको कारण शिक्षक अभावले विद्यालय सञ्चालनका लागि आन्तरिक स्रोत नहुँदा समस्या भएको गुनासो गरिन् । सामूहिक व्रतबन्ध गराउने, चाडपर्व रीतिरिवाज, जनैपूर्णिमामा रक्षाबन्धन गर्न गुरु-विद्यार्थी जजमानसमक्ष पुगेर आर्थिक स्रोतको वैकिल्पक व्यवस्थापन गराउँदै विद्यालय चलाउन सङ्घर्षरत रहँदै आइरहेकाले विद्यालयले शिक्षक दरबन्दी वृद्धिका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।







प्रतिक्रिया