स्वास्थ्यचौकी भवनको शिलान्यास

  • त्रिशूली प्रवाह
  • ४ फाल्गुन २०७९, बिहीबार १३:२६

विदुर, एसियाली विकास बैंकमार्फत जापान सरकारको अनुदानमा नुवाकोटमा बहुउद्देश्यीय स्वास्थ्य भवन निर्माणको शिलान्यास गरिएको छ । विदुर नगरपालिका-२ स्वास्थ्यचौकी परिसरमा निर्माण हुने भवनमा अक्सिजन सुविधासहित रहने उल्लेख गरिएको छ ।

गरिबी न्यूनीकरणका लागि जापान कोषको अनुदानमा गत बिहीबार स्वास्थ्य भवन निर्माणको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी र २ नम्बर वडाका अध्यक्ष दीपक कायस्थले संयुक्त रूपमा शिलान्यास गरेका हुन् । खानेपानी तथा ढल व्यवस्थापन विभागको कार्यक्रमअन्तर्गत वैकल्पिक तथा साना सहर परियोजनामा धुने र स्वास्थ्य पहलमार्फत कोरोना रोगको रोकथाम र नियन्त्रण नामक आयोजनामा उक्त भवन निर्माण हुने नगरप्रमुख श्रेष्ठले जानकारी दिए । समान विकास र समान सुविधाका लागि भवन निर्माण गर्न लागिएको २ नम्बरका वडाध्यक्ष दीपक कायस्थले जानकारी दिए । भवन निर्माण सम्पन्नपश्चात् आवश्यक जनशक्ति र सुविधा उपलब्ध गराउने उनले प्रतिबद्धता जनाए ।

परियोजनाअन्तर्गत विनियोजन भएको भ्याटसहितको १० करोड ९९ लाख १८ हजार पाँच सय ८७ रुपैयाँले शुभघाट, प्रगतिनगर, बुटवल, निर्माण पोखरी र सूर्यविनायक स्थानमा भवन निर्माण गर्न लागिएको निर्माण पक्षले जनाएको छ । प्यारामाउन्ट कन्सल्टेन्सीले जिम्मा पाएको उक्त स्वास्थ्य भवन निर्माण सुरु भएको एक वर्षभित्र निर्माण सम्पन्न गर्ने जनाएको छ ।