- राजकुमार श्रेष्ठ
नुवाकोट जिल्ला सूर्यगढी गाउँपालिका-३ मा रहेको सूर्यगढी गाउँपालिकाको एक मात्र सामुदायिक क्याम्पसको फागुन १५ गते सोमबार क्याम्पसको प्राङ्गणमा १५औँ वार्षिकोत्सव तथा क्याम्पस भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
सूर्यगढी क्याम्पसको वार्षिकोत्सव तथा भवन उद्घाटन कार्यक्रममा प्रमुख अतिथि पूर्वखेलकुदमन्त्री तथा सङ्घीय सांसद माननीय हितबहादुर तामाङ, विशेष अतिथि पूर्वकृषि राज्यमन्त्री तथा पूर्वबागमती प्रदेशको उपप्रमुख र हाल प्रदेश सदस्य माननीय राधिका तामाङ, विशेष अतिथि पूर्वप्रदेशमन्त्री तथा प्रदेश सांसद, नेकपा एमालेको जिल्ला अध्यक्ष बद्री मैनाली, विशेष अतिथि माननीय प्रदेश सांसद रमेशकुमार महत, जिल्ला समन्वय समिति अध्यक्ष रवीन्द्रसिंह ठकुरी, गाउँपालिकाको अध्यक्ष सन्तबहादुर तामाङ, प्रमुख जिल्ला अधिकारी किरण थापा, त्रिभुवन विश्वविद्यालयको रसायनशास्त्र विभागको प्रमुख प्राध्यापक डा. रामेश्वर अधिकारी, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक पुष्प लामिछाने, राप्रपाका अणबहादुर प्याकुरेल, सूर्यगढी गाउँपालिका २ र ३ का अध्यक्ष, नेकपा एमाले, काङ्ग्रेस, क्रान्तिकारी, समाजवादी दलका प्रमुखलगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रमको सभापति क्याम्पस अध्यक्ष तथा माननीय सांसद विमला सुबवदीले गरेकी थिइन् ।
सो कार्यक्रममा प्रमुख अतिथि, अतिथि र आमन्त्रित अतिथिलाई स्थानीयस्तरमा प्राप्त हुने पिपलको पातबाट बनेको ब्याच प्रयोगले कार्यक्रममा अनुकरणीय कार्य भएको कुरा सम्पूर्ण अतिथिले स्वागत वा प्रशंसनीय उदाहरणको रूपमा लिए । कार्यक्रमको वार्षिक प्रतिवेदन तथा हालसम्म भएका गतिविधिबारे क्याम्पस प्रमुख शिवबहादुर भण्डारीले क्याम्पसको अवस्था, प्रशासनिक र हाल रहेको समस्याबारे बताए । क्याम्पस सञ्चालन गर्न विभिन्न सरकारी निकायले सहयोग गरे । क्याम्पस प्रमुखको प्रतिवेदनअनुसार उक्त भवन निर्माण गर्न विश्वविद्यालय अनुदान आयोगबाट एक करोड नौ लाख, बागमती प्रदेश ५० लाख प्राप्त भएको साथै विभिन्न शैक्षिक, भौतिक निर्माण गर्न जिविस नुवाकोटबाट पाँच लाख, सूर्यगढी गाउँपालिकाबाट ६ लाख ४८ हजार प्राप्त भएको कुरा उक्त प्रतिवेदनबाट जानकारी दिए ।
साथै, क्याम्पसलाई शैक्षिक, भौतिक सहयोग गर्ने विभिन्न दाता, उपप्राध्यापक, पूर्व र वर्तमान सञ्चालक समितिका पदाधिकारी, व्यक्तिलाई हार्दिक धन्यवाद दिए । नवनिर्मित भवनको उद्घाटन प्रमुख अतिथि एवम् पूर्वखेलकुदमन्त्री तथा सङ्घीय सांसद माननीय हितबहादुर तामाङले गरे । भवन निर्माण गर्न सहयोग पु¥याउने जग्गादातालाई समेत सम्मान गरिएको थियो । क्याम्पस भवन निर्माणका लागि जग्गा दिने जग्गादातामा सूर्यगढी गाउँपालिका– ३ का बालकृष्ण अधिकारीले पाँच आना, सूर्यगढी– ३ निवासी कृष्णप्रसाद नेपाल र स्व. रामकृष्ण खनालले केही क्षेत्रफलको जग्गा दिएको थिए । उक्त जग्गादाता र उनका परिवारलाई समेत कार्यक्रममा सम्मान गरियो । कार्यक्रममा हालसम्म करिब ७३ जना स्नातक तह उत्तीर्ण विद्यार्थीलाई क्याम्पसले सम्मानसमेत गरेको थियो भने क्याम्पसलाई शैक्षिक, आर्थिक, सामाजिक र भौतिक तवरले सहयोग गर्नुहुने विभिन्न पूर्वसञ्चालक समितिका अध्यक्ष, सदस्य, पूर्वक्याम्पस प्रमुख, उपप्रध्यापकलाई समेत सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथिले अहिलेको शिक्षालाई भन्दा पनि प्राविधिक शिक्षालाई बढी प्रोत्साहन दिई त्यहीअनुसारको कार्य गर्नुपर्ने कुरामा जोड दिँदै जसले गर्दा शैक्षिक बेरोजगारको स्थिति हल हुने कुरामा उनले जोड दिए । अन्य अतिथि गणहरूले सामुदायिक विद्यालय र सामुदायिक क्याम्पसलाई टिकाउन प्रदेशस्तरीय शिक्षा ऐन नबनिरहेको हुँदा त्यसमा लाग्ने बताए । सूर्यगढी गाउँपालिकाको एक मात्र सामुदायिक क्याम्पसको प्रमुख स्रोत भनेको बागेश्वरी उमावि, सूर्यगढी गाउँपालिकाभरिका अन्य मावि र नजिकका गाउँपालिका लिखु, तादी र विदुर नगरपालिकाको वडा नं. ११ का विद्यार्थी र रसुवा जिल्लाका सरमथलीका उच्च शिक्षा हासिल गर्न उक्त क्याम्पसमा पढ्न जाने गरेको पाइन्छ । उक्त क्याम्पसमा न्यून आय भएका जो उच्च शिक्षा हासिल गर्न राजधानीसम्म जान नसक्ने अवस्थाको व्यक्ति, मध्यम वर्गका साथै स्थानीय दिदीबहिनी, बुहारी पढ्ने गरेको हुनाले यसको संरक्षण गर्नुपर्ने देखियो ।






प्रतिक्रिया