+
Search

ताजा अपडेट +

पपुलर +

रक्तदाता समाज रसुवाको अध्यक्षमा प्रमिला

त्रिशूली प्रवाह
३ साल अगाडी
  • सरस्वती न्यौपाने

धुन्चे, नेपाल स्वयम्सेवी रक्तदाता समाज कालिकास्थान र कालिका हिमालय माविका एसएलसी २०५६ ब्याचको आयोजनामा भएको खुला रक्तदान कार्यक्रममा ९४ जनाले रक्तदान गरेका छन् ।

Utsuk Books & Stationery
Satkar Machinery Center

उक्त कार्यक्रममा नेपाल स्वयम्सेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्य, केन्द्रीय रक्तसञ्चार केन्द्रका निर्देशक दिव्यराज पौडेल, कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा, नौकुण्ड गाउँपालिकाका उपाध्यक्ष चन्द्र तामाङ, नेपाल स्वयम्सेवी रक्तदाता रसुवाकी अध्यक्ष प्रमिला लामालगायत स्थानीय तहका वडाध्यक्ष तथा जनप्रतिनिधिको सहभागिता रहेको थियो । सो कार्यक्रममा प्रमुख अतिथि कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा, उपाध्यक्ष मीरा तामाङ, नौकुण्ड गाउँपालिका उपाध्यक्ष चन्द्र तामाङ तथा विभिन्न वडाध्यक्षले रक्तदान कार्यक्रम सराहनीय काम भएको र आगामी दिनमा निरन्तरता दिन तथा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा कालिका गाउँपालिकाका पूर्वअध्यक्ष सीता अधिकारी, उपाध्यक्ष भवानीप्रसाद न्यौपानेलगायत पूर्वजनप्रतिनिधि, पत्रकार, अधिकारकर्मी र स्थानीय सहभागी थिए । कार्यक्रममा पानी, फलफूल तथा जुस प्रदान गर्ने तथा रक्तदान कार्यक्रममा सहयोग गर्ने स्वास्थ्यकर्मीलाई प्रशंसापत्र प्रदान गरिएको थियो । दुई सयजनाले रक्तदान गर्ने तयारी गरे पनि संयोगले हात्तीपाइलेविरुद्धको औषधि सेवन गरेकाले रक्तदान गर्न नहुने भनेपछि रक्तदान गर्ने कम भएको आयोजकले बताएका छन् ।

Suzuki New Bike & Scooter

त्यसैगरी, नेपाल स्वयम्सेवी रक्तदाता समाज रसुवाको प्रथम अधिवेशन गरी महाधिवेशन प्रतिनिधिसमेत छनोट भएको छ । अधिवेशन केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा भएको थियो । जिल्ला समितिको ०७७ पुस १९ गते रसुवामा तदर्थ समिति गठन भएको थियो । शनिबार भएको अधिवेशनले प्रमिला लामाको अध्यक्षतामा नौ सदस्य रहेको जिल्ला समिति गठन भएको छ । उपाध्यक्ष रामशरण गजुरेल ‘निशान’, सचिव हेमनाथ खतिवडा, कोषाध्यक्ष प्रेम पौडेल, सदस्यमा रामशरण पौडेल, पूर्ण न्यौपाने, सरस्वती न्यौपाने र सविना घिमिरे चयन भएका छन् । त्यसैगरी, महाधिवेशन प्रतिनिधिमा जिल्ला समितिबाट प्रमिला लामा, हेमनाथ खतिवडा र कालिका गाउँपालिका समितिबाट तारा कार्की रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह