धुन्चे, रसुवा जिल्लाको पहिलो सामुदायिक विद्यालय नीलकण्ठ माध्यमिक विद्यालय बोगटीटारले आफ्नो ७३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस फागुन १४ गते आइतबार विविध कार्यक्रमसहित सम्पन्न गरेको छ ।
कार्यक्रममा नीलकण्ठ माध्यमिक विद्यालयलाई नमुना विद्यालयको रूपमा अगाडि बढाउन शैक्षिक, भौतिक तथा सामाजिक रूपले व्यवस्थित र विश्वसनीयताको आधार निर्माण गर्नुपर्ने कुरालाई वक्ताहरूले जोड दिएका छन् । विद्यालयको भौतिक पक्षलाई मात्र ध्यान दिँदा विद्यालयमा विद्यार्थीलाई दिइने शैक्षिक क्रियाकलापलाई पनि बढी महत्व दिनुपर्ने उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्यालले बताए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका अध्यक्ष अर्यालले मानवतासम्बन्धी सही शिक्षा नदिएसम्म भौतिक रूपमा जति धेरै विकास गरे पनि त्यो विकासको अपनत्व र दिगो नहुने उल्लेख गर्दै हरेक विद्यालयले अबको शिक्षामा शिक्षणशैलीमा सुधार ल्याउन नसके अन्य विकासको पनि कुनै अस्तित्व र अपनत्व बढाउन नसकिने बताए ।
विद्यालयको शैक्षिकस्तरलाई समाज रूपान्तरणमा लगानी हुन सक्ने शिक्षाको रूपमा विकास गर्न सके त्यो विद्यालयको अस्तित्व पनि अझ राम्रो र दिगो हुने बताउँदै अध्यक्ष अर्यालले शिक्षालाई समाजको आधारभूत वस्तुको रूपमा समेत बुझ्न आवश्यक रहेको उल्लेख गरे । उत्तरगया गाउँपालिका– ५ का वडाध्यक्ष यमनाथ आचार्यले उत्तरगयाको आधार शिक्षाको गुणस्तरलाई बनाउनुपर्नेमा जोड दिए । यदि त्यो स्थानीय तहमा शैक्षिक गुणस्तर कायम गर्न सकिएन भने सबल नीलकण्ठको अवधारणा असफल हुने उल्लेख गरे । शिक्षा क्षेत्रमा गरिएको लगानी तत्काल नदेखिए पनि कालान्तरमा देश र समाजका लागि निकै अतुलनीय बन्न सक्ने वडाध्यक्ष आचार्यले बताए । वार्षिकोत्सव कार्यक्रममा पैसाका कारण कुनै पनि विद्यार्थीले विद्यालय छोड्नुपर्ने अवस्थाको अन्त्य गर्न केही सहजता मिलोस् भन्ने उद्देश्यका साथ स्थापित कृष्णमान सिंह स्मृति कोषबाट प्राप्त छात्रवृत्ति रकम २८ जनालाई पनि हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा शिक्षक-अभिभावक सङ्घलगायतले विद्यालयलाई नमुना विद्यालयको रूपमा विकास गर्न शिक्षक, अभिभावक, विद्यार्थी र विभिन्न राजनीतिक दल र शैक्षिक व्यक्तित्वको समेत विशेष ध्यान, सहयोग र आपसी समन्वय हुनुपर्नेमा जोड दिएका थिए । वार्षिकोत्सवको अवसर पारेर विद्यालयलाई आर्थिक सहयोग गर्ने शिक्षक, कर्मचारी र शुभेच्छुकलाई सम्मानसमेत गरेको थियो । कार्यक्रममा जेहेनदार तथा उत्कृष्ट विद्यार्थीलाई नगद पुरस्कार तथा छात्रवृत्ति रकमसमेत प्रदान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमनाथ आचार्यको अध्यक्षतामा कक्षा १२ सम्म साधारण र प्राविधिक शिक्षातर्फ कम्प्युटर विज्ञान विषयको पठन–पाठन हुने विद्यालयमा करिब चार सय विद्यार्थी अध्ययन गर्दै आएका छन् ।
प्रतिक्रिया