+
Search

ताजा अपडेट +

पपुलर +

बागमती सरकारको नयाँ पर्यटन नीतिमा काठमाडौं र हेटौँडादेखि रसुवागढीसम्म पर्यटनमार्ग घोषणा

बागमती सरकारको नयाँ पर्यटन नीतिमा काठमाडौं र हेटौँडादेखि रसुवागढीसम्म पर्यटनमार्ग घोषणा
त्रिशूली प्रवाह
२ साल अगाडी

धुन्चे, बागमती प्रदेश सरकारले बनाइरहेको नयाँ पर्यटन नीतिको खाकामा रसुवा जिल्लाको गोसाइँकुण्डमा केबलकार निर्माणदेखि काठमाडौं र हेटौँडादेखि रसुवागढी नाकासम्मको सडकमार्गलाई पर्यटनमार्ग घोषणा गर्ने प्रस्ताव गरेको छ ।

बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयले रायका लागि सार्वजनिक गरेको प्रदेश पर्यटन नीति २०७९ को मस्यौदाअनुसार पर्यटन पूर्वाधारको विकास र विस्तारको योजनामा यस्ता आयोजना समेटिएका छन् । पर्यटन नीतिको मस्यौदामा गोसाइँकुण्डलगायतका स्थानमा केबलकार स्थापना गर्न प्रोत्साहन गरिने उल्लेख छ । पर्यटन नीतिमा गोसाइँकुण्ड एकीकृत विकास परियोजनामार्फत रसुवाको प्रमुख तीर्थस्थल गोसाइँकुण्डको समग्र विकास गरिनेसमेत उल्लेख गरिएको छ । पर्यटनको सम्भाव्यता भएका बागमती प्रदेशका जिल्लामा हिल स्टेसनको एकीकृत विकासका लागि सडकलगायतका पूर्वाधार र स्तरोन्नतिमा ध्यान दिनेसमेत पर्यटन नीतिमा उल्लेख छ ।

यस्तै, काठमाडौं र हेटौँडादेखि रसुवागढी नाकासम्मको सडकमार्गलाई प्रदेश सरकारले पर्यटनमार्ग घोषणा गर्ने भएको छ । त्यसका लागि सडकको मर्मत-सुधार सरकारले गर्ने र होटेललगायत सुविधाको विकास र विस्तारमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति प्रदेश सरकारले लिने भएको छ । समग्र पर्यटन पूर्वाधारको निर्माणमा निजी क्षेत्रसँग सहकार्य गरी निजी क्षेत्रको लगानी बढाउने नीतिसमेत प्रदेश सरकारले लिने भएको छ । प्रमुख पर्यटकीय क्षेत्रमा स्तरीय होटेलको विकास गर्नसमेत निजी क्षेत्रलाई प्रोत्साहन गरिने उल्लेख छ । प्रदेशअन्तर्गत पर्ने राष्ट्रिय लोकमार्ग र प्रादेशिक तथा स्थानीय प्रमुख लोकमार्गलाई सम्भाव्यताका आधारमा पर्यटन करिडरका रूपमा विकास गर्नेसमेत मस्यौदामा उल्लेख गरिएको छ । काठमाडौंकेन्द्रित पर्यटनलाई अन्य क्षेत्रमा विस्तार गर्न काठमाडौं आसपासमा पर्यटन गन्तव्यको विकास गरी सहज पहुँच मार्गको विकास गर्नेसमेत नीतिमा उल्लेख छ । स्थानीय तहसँगको सहकार्यमा प्रदेशभरका पर्यटकीय गन्तव्यमा खानेपानी, शौचालय, सरसफाइ, ढल निकास, साइकल लेन, निःशुल्क इन्टरनेटसहितका सुविधा उपलब्ध गराउनेसमेत प्रदेश पर्यटन नीतिमा उल्लेख छ ।

यस्तै, प्रदेश पर्यटन नीतिले पर्यटनको लाभ स्थानीयस्तरसम्म पु¥याउन होमस्टेलाई प्रमुख माध्यम बनाउने भनेको छ । जौविक कृषि तथा हस्तकलाको प्रवद्र्धन गरी आयआर्जनका लागि बजारीकरणको विस्तार गर्नेसमेत पर्यटन नीतिको योजना छ । स्थानीय कृषि उत्पादनमा प्रदेश सरकारले सहयोग गरी बजारीकरणमा समेत सरकारले ध्यान दिने नीतिमा उल्लेख गरिएको छ । हस्तकलाको बिक्री गर्नसमेत प्रदेश सरकारले विशेष प्रबन्ध गर्ने भनेको छ । महिलाको नेतृत्वमा वा महिला समूहद्वारा सञ्चालन गरिने पर्यटकीय क्रियाकलापलाई विशेष प्रोत्साहन दिइने भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह