विदुर खानेपानीको पाइप हराएपछि हल्लीखल्ली

  • त्रिशूली प्रवाह
  • १८ फाल्गुन २०७९, बिहीबार १२:४८

विदुर, विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा अहिले गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडक योजनाले सडक स्तरोन्नति गर्दा सिमुटारदेखि बेत्रावतीसम्मको झिकेको खानेपानीको पाइप संस्थामा नभएपछि हल्लीखल्ली भएको छ ।

तत्कालीन संस्थाका अध्यक्ष राजेन्द्र अर्यालको पालामा विदुर नगरपालिकामार्फत केन्द्र सरकारको बजेटबाट किनेको १० किलो प्रेसरको पाइप करिब पाँच ट्रिप पाइप नारायणबहादुर खनाल अध्यक्षलाई हस्तान्तरण गरिएकोमा ती पाइप ड्बाँचे आयोजनामा कसरी पुग्यो भनेर खोजी कार्य हुन थालेपछि विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका पदाधिकारी तैँ चुप मै चुप अवस्थामा रहेका छन् । ९ फागुन ०७९ मा सडक आयोजनाको कार्यालय विदुरमा आयोजना प्रमुख विदुर खानेपानी तथा सरसफाइ उपभोक्त संस्था कार्यसमितिका साथी, गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडक योजनाको ठेकेदार (निर्माण व्यवसायी) तुण्डीको सुमन सुवेदीले पैरेबेँसी मुहानको बेत्रावती नयाँ पुलदेखि ढुङ्गेसम्मको खानेपानी पाइप लाइनबाट झिकेको पाइप संस्थालाई बुझाएको बताएपछि पाइप खोजीकार्य प्राथमिकतामा परेको छ । सडक स्तरोन्नतिको क्रममा विगत तीन वर्षअगाडि वैकल्पिक खानेपानीका लागि ठेकेदारले नगरपालिकासँग समन्वय गरेर ढुङ्गेमा डिपबोरिङ जडान गरी संस्थाले पानी वितरण गरेको थियो । निर्माण व्यवसायी तुण्डीका साइड इन्चार्ज इन्जिनियर गौरीशंकर महतोको भनाइअनुसार बेत्रावती नयाँ पुलदेखि ढुङ्गेसम्म सडक निर्माणको क्रममा निकालिएका २० देखि २५ ट्रिप DI र CI पाइप जिम्मा लगाएको थियो ।

तर, विदुर खानेपानी उपभोक्ता संस्थाका नवनिर्वाचित कार्यसमितिको भनाइअनुसार उक्त पाइप संस्थाको गोदाममा नभएको बताएपछि नुवाकोट नागरिक समाज पाइपको खोजीमा जिल्ला प्रशासन कार्यालयको सहयोग माग्न पुगेको छ । उक्त पाइप कहाँ छ भनेर पत्ता लगाउन लागिपरेको नागरिक समाज नुवाकोटका अध्यक्ष बद्री तिवारीले बताए ।