+
Search

ताजा अपडेट +

पपुलर +

काङ्ग्रेस नेता घलेको शङ्कास्पद मृत्युको छानबिन गर्न माग

त्रिशूली प्रवाह
३ साल अगाडी

विदुर, नेपाली काङ्ग्रेसका नेता एवम् पूर्वजनप्रतिनिधि कृष्णबहादुर घलेको शङ्कास्पद मृत्यु भएको छ । उनी फागुन १८ गते बिहीबारदेखि हराइरहेका थिए । खोजीको क्रममा उनी मृतावस्थामा म्यागङ गाउँपालिका-२ को ग्युलमाने भिरबाट करिब दुई सय मिटर तल शङ्कास्पद अवस्थामा सोमबार दिउँसो फेला परेको नुवाकोट प्रहरीले जनाएको छ ।

Utsuk Books & Stationery

उक्त घटनाको सत्यतथ्य बाहिर ल्याउन नेपाली काङ्ग्रेस नुवाकोटले जिल्ला प्रशासन कार्यालयसँग माग गरेको छ । निष्पक्ष छानबिन तथा दोषीउपर कारबाहीको माग गर्दै मंगलबार नेपाली काङ्ग्रेसका उपसभापति राजु थापा र सचिव श्रीराम श्रेष्ठसहित काङ्ग्रेसका नेता–कार्यकर्ताको टोलीले जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी किरण थापालाई निष्पक्ष छानबिनको माग गर्दै पत्र बुझाएका छन् । ‘घले चढ्ने बा.८१प.५३८३ नम्बरको मोटरसाइकल तथा लगाउने हेलमेट बाटोमा सुरक्षित रहेको, तर मान्छे नजिकै मृत अवस्थामा फेला पर्नु रहस्यमय छ भन्ने ठहर हाम्रो रहेको छ,’ पत्रमा भनिएको छ, ‘घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न नेपाली काङ्ग्रेस नुवाकोट जोडदार माग गर्दछ ।’ ६० वर्षीय घले साबिक साल्मे गाउँ विकास समितिका निवर्तमान अध्यक्ष, जिल्ला विकास समितिका क्षेत्रीय सदस्य, नेपाली काङ्ग्रेस नुवाकोटका महाधिवेशन प्रतिनिधिसमेत हुन् ।

म्यागङ गाउँपालिका-२ बुङताङबाट साल्मेतर्फ जाने भित्री सडकखण्डबाट अन्दाजी दुई सय ५० मिटर तल घलेको मृत शरीर भिरमा अड्किएको थियो । उक्त अड्किएको घलेको मृत शरीरलाई सशस्त्र प्रहरी बल, नेपाल नं. १९ गुल्म हे.क्वा., नुवाकोटबाट विपत् व्यवस्थापन तालिमप्राप्त सशस्त्र प्रहरी कर्मचारी र जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीको टोलीले मंगलबार दिउँसो १२ बजे झिकेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह